काठमाडौं, पुस १६ । बर्ष भर पसिना बगाएर उब्जाएको उखुको पैसा नपाएको भन्दै उखु किसान अहिले काठमाडौंमा आन्दोलरत छन् । तीन वर्ष देखिको उखुको पैसा नपाएको भन्दै किसान अहिले आन्दोलित बनेका हुन् ।
सरकारले उखु किसानको तिर्न बाँकि बक्यौता तिर्न सम्बन्धित उखु मिलहरुलाई निर्देशन दिईसकेको छ । सरकारको निर्देशनको मिल सञ्चालकहरुले भने मतलव राखेका छैनन् ।
उद्योगीको कार्यालयमा ताला लगाएर भए पनि सरकारले बक्यौता उठाइदिनुपर्ने माग कृषकको माग राख्दै आएका छन्। सरकारले निर्देशन दिँदापनि कृषकको पैसा नदिएपछि गृह मन्त्रालयले सञ्चालकहरुलाई पक्राउ गर्ने तयारी गरेको छ ।
उखु उत्पादक कृषक संघ र चिनी उद्योगबिच बार्ता भएपनि किसानले भने आफ्नो परिश्रमको मूल्य पाएका छैनन् । गृहमन्त्रालयले महालक्ष्मी, अन्नपूर्ण र लुम्बिनी चिनी मिलका मालिक सम्पर्कमा नआएको जानकारी गराएको छ ।
श्री महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडियाले मन्त्रालयमै आएर २५ गतेभित्र सबै बक्यौता भुक्तानी गर्ने लिखित प्रतिबद्धता दिएका छन् ।उखु उद्योग सम्पर्कमा नआएको भन्दै उद्योग मन्त्रालयले चिनी उद्योगी खोजिदिन गृह मन्त्रालयमा आइतबार पत्राचार गरिसकेको छ । उद्योगको पत्र गृहले सोमबार दर्ता गरेको जानकारी दिएको छ ।
सोमबारै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पनि चिनी उद्योगीलाई पक्रिएरै भए पनि किसानको भुक्तानी दिलाउन उद्योग र कृषि मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।
गृहले बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न मंगलबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ । गृहले प्रहरी मुख्यालयलाई ‘अत्यन्त गोप्य’ पत्र पठाउँदै चिनी उद्योग सञ्चालक राकेशकुमार अग्रवालसहित आधा दर्जन उद्योगीलाई पक्राउ गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखालाई बुझाउन निर्देशन दिएको हो ।
०७५÷०७६ मा उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा सरकारले मूल्य निर्धारण गरेको थियो।गत वर्ष प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा सरकारी अनुदान र र ४ सय ७१ रुपैयाँ २८ पैसा उद्योगीले दिने गरी मूल्य निर्धारण भएको थियो।