Logo

सरकार १५ प्रतिशतमात्रै सफल : ईतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल



‘मधेशी र पहाडीबीच द्वन्द्व सिर्जना गर्न खोजिँदैछ, सचेत होऔं’

काठमाडौं, १६ पुष । ईतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले वर्तमान सरकार ८५ प्रतिशत असफल भएको दाबी गरेको छ । उक्त पार्टीका केन्द्रीय अध्यक्ष बद्रीनारायण ठाकुरले बुधबार रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘वर्तमान सरकार जुन उद्देश्यले भनेको थियो, त्यो उद्देश्यअनुरुप काम गर्न चुकेको छ । हाम्रो पार्टीले त यो सरकार १५ प्रतिशतमात्रै सफल भएको निश्कर्ष निकालेको छ । बाँकी ८५ प्रतिशत त यो सरकार पुरै असफल भएको छ ।’ सरकारले जनतासामू धेरै झुठा नारा अघि सारेको पनि अध्यक्ष ठाकुरको आरोप छ ।

उनले भने,‘सरकारमा बस्नेहरुले जति भाषण गरेका छन्, त्यसको तुलनामा एक प्रतिशतपनि काम भएको छैन् । जनता अहिले पूरै निराशामा छन् ।’ आफ्नो पार्टीले विगतदेखि नै सरकारलाई सुशासन, भ्रष्टाचारलगायतका विषयमा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएको सुनाउँदै उनले सरकारले आफूहरुको मागप्रति खासै वास्ता नगरेको पनि गुनासो पोखे । देश र जनताको हितको लागि समान समानुपातिक समावेशिताको सिद्धान्तअनुसार संविधान संशोधन गर्नुपर्ने आफूहरुको धारणा रहेको ठाकुरको भनाई छ ।

देशका सीमा मित्रराष्ट्रद्धय भारत र चीनले विगत लामो समयदेखि अतिक्रमण गर्दै आएकोमा पनि आफ्नो पार्टीले गम्भिर आपत्ति जनाएको उनले स्पष्ट पारे । सीमा विवाद समाधानको लागि वर्तमान सरकारले गम्भिर पहलकदमी लिनुपर्ने पनि आफूहरुको सुझाव रहेको ठाकुले जनाए । तर, सरकारले सीमा विवाद समाधानको लागि अहिलेसम्मपनि ठोस कदम नचालेकोमा भने उनले अक्रोश पोखे ।

ठाकुरले देशमा भयावहय अन्तरद्वन्द्व सिर्जना हुने खतरा पनि औंल्याएका छन् । तराई र पहाडवासी जनताबीच द्वन्द्व सिर्जना गराउनको लागि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु लागिपरेको भन्दै उनले देशभक्त नेपाली जनताहरु यसप्रति सचेत हुनुपर्ने सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्