काठमाडौ, १६ पौष । तनहुको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजनलाई नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज स्वागत गरिएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाटधाम भ्रमणका लागि देशका विभिन्न ठाउँबाट आएका भक्तजनलाई स्वागत गरेको छ । समितिका अध्यक्ष शिवराज पौडेलले करीब ६०÷७० भक्तजनलाई स्वागत गरिएको जानकारी दिए । भ्रमण वर्षका अवसरमा सरकारले पर्यटकलाई स्वागत गर्न निर्देशन गरेबमोजिम देवघाट गाउँपालिका, विभिन्न टोल समूहलगायतको उपस्थितिमा भक्तजनलाई स्वागत गरिएको पौडेलले बताए ।
धार्मिक, सांस्कृतिक पर्यटनको केन्द्र बन्दै गइरहेको देवघाटमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि भक्तजन आउने गरेका छन् । देवघाटमा माघे सङ्क्रान्तिका अवसरमा ठूलो मेला लाग्छ । मुक्तिनाथको शिरबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको
त्रिशुलीको सङ्गम देवघाटलाई विश्वका हिन्दूको आस्थाको केन्द्रका रुपमा विकास गर्ने गरी भ्रमण वर्षका अवसरमा पर्यटक लक्षित विभिन्न कार्यक्रम गरिने समितिका अध्यक्ष पौडेलले बताए।
नेपाल आउने पर्यटकमध्ये ४० प्रतिशतलाई देवघाटमा भित्र्याउन सके यस क्षेत्रको विशिष्ट महत्वका बारे संसारभर प्रचारप्रसार हुने पौडेलले बताए । पर्यटकको स्वागतका लागि देवघाटमा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, गुरुकुल, विद्यापीठ तथा आश्रमका तर्फबाट साहित्यिक कार्यक्रम, त्रिशूली र कालीगण्डकी नदीमा जलविहारलगायत कार्यक्रम सञ्चालन गरिनेसमितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए ।
देवघाटमा महाशिवरात्रि, माघे सङ्क्रान्ति जस्ता ठूला पर्वमा पाँच लाखभन्दा बढी आन्तरिक पर्यटक र भक्तजनको आगमन हुने बताइएको छ । अब बाह्य पर्यटकलाई देवघाटमा भित्र्याउने तयारी गरिएको उनले बताए। त्यसका लागि समितिका पदाधिकारीले गत महिना भारतका विभिन्न भागको भ्रमण गरी देवघाट आउन निमन्त्रणा गरिसकेका छन् ।
देवघाटस्थित हरिहर सन्न्यास आश्रमका पीठाधीश एवं नेपाल सन्त समाजका केन्द्रीय
अध्यक्ष ज्ञानानन्द सरस्वतीले देवघाटको महिमा ठूलो छ भन्दै यहाँ करीब ५५० वर्ष पहिले चक्रवर्ती राजा मणिमुकुन्देश्वरले ध्यान गरेको बताएका छन । देवघाटमा रहेका विभिन्न मठमन्दिर र गुफाले यहाँ देवताको बास रहेको पुष्टि हुन्छ भन्दै उनले कालीगण्डकीको तीरमा पाइने शालिग्राम विश्वमा अन्यत्र कहीँ नपाईने जानकारी दिए ।
देवघाटको चक्रवर्ती मन्दिरमा रहेको ॐ लेखिएको चक्रेश्वर शिला विश्वमै एक मात्र रहेको जिकिर गर्दै उनले त्यसको उचित प्रसारप्रसार हुन सकेमा देवघाटको अन्तरराष्ट्रिय ख्याति बढ्ने बताए । देवघाटको महिमाको चर्चा गर्दा करीब पाँच सय वर्षअघि त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा एक माझीले चक्रैचक्र भएको एक कुर्म कछुवा शालिग्राम शिला फेरा पारेका थिए, जुन देवता र दानवद्वारा अमृत प्राप्तिका लागि समुद्रमन्थन गर्दा आधारका रुपमा विष्णुबाट कछुवा रुप धारण गरिएको थियो, त्यही कछुवा आकारको शालिग्राम नै यही शिला भएको र उक्त शिलालाई विष्णुको प्रतीक मानिने विश्वास रहिआएको छ । विष्णुका प्रतीक शङ्ख, चक्र, वनमाला आदि सबै रहेको उक्त शिला गलेश्वर बाबाले मन्दिर बनाई स्थापना गरेका थिए।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले देवघाटलाई हिन्दूको पवित्रभूमि र आस्थाको प्रतीकका रुपमा विकास गर्न सङ्घीय सरकारसँग हातेमालो गरी काम गरिने बताए । मुग्लिङ–नारायणगढ खण्डको दासढुङ्गाबाट ६ किमी सडक हुँदै सवारी साधनमा र चितवनको नारायणगढ नजीकैको आँपटारीबाट तीन किमी यात्रामा सवारी साधन हुँदै त्रिशूलीको झोलुङ्गे पुल तरेर सजिलैसँग देवघाट पुग्न सकिन्छ । वेणी, चक्रवर्ती मन्दिर, सीता गुफा, वशिष्ठ गुफा, धार्मिक उद्यान, बागीश्वरी क्षेत्र, अघोरी आश्रम, हरिहर मन्दिर, सिद्धेश्वर मन्दिर, बौद्धगुम्बा, राम मन्दिर, गणेशस्थान यहाँका प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हुन् ।