दाङ,पुस १७ । धरौटी बुझाएर रिहा भएका सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ४ नेतालाई प्रहरीले अदालत परिसरभित्रै धरपकड गरी नियन्त्रणमा लिएको छ। बुधबार दाङ देउखुरी जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन थालेका कुलबहादुर ओली, धनबहादुर बुढा, तिलक पुन र एकराज चौधरीलाई अदालत परिसरभित्रैबाट पुनःनियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिने क्रममा भएको प्रहरी धरपकडका कारण केही बेर अदालत परिसरमा सर्वसाधारण त्रस्त बनेका थिए। गत असोज ३० गते जिल्लाको राजपुर गाउँपालिकास्थित जंगलबाट नियनत्रणमा आएका २१ जनामध्ये चार नेताहरू बुधबार धरौटीमा रिहा हुने तयारीमा थिए।
जिल्ला अदालतले ७ पुसमा पक्राउ परेका २१ जनालाई नै १५÷१५ हजार धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर प्रहरीले पुनः अदालत परिसरबाटै फरक मुद्दा लगाएर पक्राउ गर्ने तयारी गरेपछि उनीहरू पुस ७ गते धरौटी नबुझाएर कारागार चलान भएका थिए।
जिल्ला अदालतको उक्त आदेशअनुसार चारैजनाका आफन्त धरौटी बुझाएर रिहा गर्न अदालत पुगेका थिए। धरौटी बुझाएपछि रिहा हुन थालेका चार नेताले अदालतको दर्ता चलानीकक्षमा सही छाप गर्दै रहेका बेला प्रहरीले उनीहरूलाई पुनः नियन्त्रणमा लिएको थियो।
त्यस क्रममा उनीहरूका परिवारमाथि प्रहरीले अदालतभित्रै हातपातसमेत गरेको थियो। ‘अदालतले धरौटीमा छोड्न भनेपछि म मेरो श्रीमान्को रिहाइका लागि अदालतमा धरौटी बुझाउन आएकी थिएँ,’ तिलक पुनकी श्रीमती छिमाले भनिन्, ‘तर पुलिसले अदालतको गेटबाहिर पनि जान दिएन, अदालतभित्रैबाट जबरजस्ती समातेर लग्यो।’
प्रहरीले जबरजस्ती गर्न थालेपछि अदालतमा पुगेका आफन्तले छुटाउन खोेजेका थिए। तर प्रहरीले उनीहरूलाई समेत हातपात गरेको पीडितको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।