काठमाडौं, १७ पुस । एकातिर प्रतिपक्षी भूमिका निर्वाह गर्न चुकेको कांग्रेस अर्कातिर आन्तरिक कलहको चपेटामा छ। त्यही कारण हिउँदे अधिवेशन औचित्यहीन र अर्थहीन तुल्याउने सत्तारूढ रणनीतिविरुद्ध कांग्रेस खुल्न सकेको छैन।
निर्वाचित कार्यसमितिको कार्यकाल सकिनु दुई महिनाअघि विभाग गठन गर्ने क्रममा विधानविपरीत दोब्बर वृद्धि गर्नु र कार्यकालको म्याद थप्नुले कांग्रेसभित्र विवाद चर्किएको हो। असहज अवस्थाबाहेक केन्द्रीय कार्यसमितिको कार्यकाल थप्नु उपयुक्त हुँदैन। तर, कार्यकाल थप्दै महाधिवेशन पनि कार्यकालको अन्त्यसम्म धकेलेर कांग्रेस नेतृत्वले एकाधिकारवादी शैली अपनाएको आरोप विज्ञहरूको छ। गुटगत घेरामा परेर एकपछि अर्को गलत निर्णय गर्न सक्रिय भएपछि कांग्रेस संकटको भुमरीमा परेको छ। निर्वाचनमा होमिन नसक्ने र गुटगत फाइदा लिनेको सल्लाहमा पर्दा कांग्रेस सभापति शेरबहादुर देउवा ‘पुरानो देउवा’ का रूपमा देखिन सकेका छैनन्। विद्यार्थी राजनीतिबाट उदाएका मात्र होइनन्, कृष्णप्रसाद भट्टराईको राजनीतिक संस्कारमा हुर्केका देउवा एकाएक एकाधिकारवादी शैलीमा अघि बढ्दा मुलुककै पुरानो र ठूलो लोकतान्त्रिक दल समस्यामा परेको छ। यसको हिस्सेदारका रूपमा आफूलाई उभ्याउने प्रयासमा देउवा लागेको आरोप उनकै दलका कार्यकर्ताले लगाइरहेका छन्।
आफन्त र गुटको घेरा चिर्न नसक्दा देउवा आफ्नो छविसँगै पार्टी लथालिंग पार्न र मुलुकमै शक्ति सन्तुलनको अभ्यास गुमाइदिने प्रयत्नमा छन्। ०४६ को परिवर्तनपछि अधिकांश समय सत्तामै रहेको कांग्रेसले यसपल्ट न संसद्मा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न सक्यो न त आन्तरिक कलह व्यवस्थापन। ‘लोकतन्त्र खतरामा पर्ने भनेको कांग्रेसजस्तो दलले सक्रिय भूमिका निर्वाह नगर्नु नै हो,’ राजनीतिक विश्लेषकहरू भन्छन्। आन्तरिक किचलो समाधान गर्न नसकेर सीमित घेरामा रम्दा समस्या उत्पन्न भएको उनीहरूको धारणा छ। राजनीतिक विश्लेषक एवं अध्येता हरि शर्माले कांग्रेसको नेतृत्व ९मूली० ले समग्र असहजताको जिम्मा लिँदै समाधानको बाटोमा हिँडाउन आवश्यक रहेको बताए। ‘मूल व्यक्तिले अध्ययन गर्दै ध्यान दिएर मिलाएर लैजाने हो,’ उनले भने, ‘मूल व्यक्तिले धेरैको कुरा सुन्ने तर कसैलाई अन्याय नहुने र दल माथि उठ्ने प्रकारको निर्णय गर्न आवश्यक छ।’
अन्नपूर्ण पोष्ट्बाट