Logo

मुलुकको राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय : परराष्ट्रमन्त्री ज्ञवाली



बरिष्ठ पत्रकार दुर्गानाथ शर्मा ‘राकेश लामिछाने स्मृति बरिष्ठ सञ्चारकर्मी सम्मान २०७६’बाट सम्मानित
पुस १६, काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मुलुकको राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताएका छन् ।  क्लासिक एफ.एम. १०१.२ मेगाहर्जको २४ औं वार्षिकोत्सव समारोहको उद्घाटन गदै मन्त्री ज्ञवालीले अहिलेको लोकतन्त्र आउनुमा सञ्चार क्षेत्रले गरेको कार्यको प्रशंसा समेत गरे । समाजमा देखिएका नकारात्मक परिस्थितिलाई सकारात्मक बनाउन सञ्चार क्षेत्रले अझै आफ्नो कार्यलाई अगाडी सार्नुपर्ने सुझाव दिए ।

क्लासिक एफएमका निर्देशक तथा राजनीतिक विश्लेशक प्रकाश पोख्रेलले मिडिया विधेयक मार्फत सरकारले संविधानको मर्मविपरित जनताको मौलिक हक कुण्ठित पार्ने खालको प्रयत्न गरिरहेको आरोप लगाए ।

संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकले सामाजिक सञ्जालमा कसैले कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेलमा बस्नुपर्ने, १५ लाख रुपैयाँ जरिवाना तिनुपर्ने जस्ता प्रावधान लोकतन्त्रको भावना र मर्म विपरित कार्य गर्न सरकार उद्धत रहेको भन्ने आरोपको प्रतिक्रिया दिदै मन्त्री ज्ञवालीले नेपालको संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख भएकाले प्रेस स्वतन्त्रता कसैले पनि हनन् गर्न नसक्ने बताउनु भयो । आम नागरिकको फोन ट्रयाकीङ् गर्ने प्रशंगमा उनले नागरिककै सुरक्षाको लागि यो निति ल्याउन लागेको प्रष्ट्याए । सञ्चार निति समग्र पत्रकारिता क्षेत्रको हितको लागि नै भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

त्यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ को बारेमा सत्तारुढ नेकपाका नेताहरु नै विभाजित भएको बताएका छन् । पूर्वमन्त्री गिरीले सरकारले अहिले ल्याउन लागेको सूचना तथा सञ्चार प्रविधि नीतिमा पनि नेकपाका नेताहरुमा नै दुई मत रहेकोले आम सञ्चार माध्यमको पक्षमा नरहेको जिकिर गरे ।

२०५२ सालमा आजकै दिनदेखि रेडियो नेपालको १०० मेगाहर्जबाट प्रसारण आरम्भ गरेको क्लासिक एफएम नेपालको पहिलो व्यवसायिक एफएम रेडियो स्टेशन हो । यस एफएमका संस्थापक स्वर्गीय राकेश लामिछानेको स्मृतिमा स्थापित ‘राकेश लामिछाने स्मृति बरिष्ठ सञ्चारकर्मी सम्मान’ बाट यसवर्ष बरिष्ठ पत्रकार तथा नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्मालाई सम्मानित गरिएको छ ।

यो सम्मानबाट यसअघि २०७५ सालमा बरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार किरण खरेल र २०७४ सालमा बरिष्ठ सञ्चारकर्मी ध्रुव थापा र गौरी केसी सम्मानित भइसकेका छन् ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद तथा नेकपा नेता विद्या भट्टराईको समेत उपस्थिती रहेको थियो । एफएमका संस्थापक निर्देशक मुकुन्द खड्काले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता एफएमकी अध्यक्ष मञ्जु कार्की लामिछानेले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्