पुष १७, काठमाण्डौ । २०७२ को विनाशकारी भूकम्पले धेरै भौतिक संरचनामा क्षति पु¥यायो । तिमध्ये धरहरासमेत ढल्दा धेरै दुखी भए । यसको पुनर्निर्माणका लागि चौतर्फी दबाब सृजना गरियो । तर सरकारले धरहरा निर्माणको विभिन्न योजना र अभियान ल्याए पनि सफल हुन सकेको थिए । एक निजी निर्माण कम्पनीले निर्माणको जिम्मा लिए पछि भने धरहरा पुनर्निर्माणले गति लिएको छ ।
धरहरा बनाउने चर्चामै भूकम्पपछिका तीन वर्ष ८ महिना बिते । पहिलोपटक सरकारको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म बनाउँछु मेरो धरहरा अभियान’ सुरु गरे पनि अभियान भने सफल हुन सकेन । २०७२ सालमा भूकम्पले ढलेको धरहरा बनाउन १० महिनापछि अभियान सुरु गरिएको थियो । त्यसपछि २०७३ पुस २१ गते सरकारले धरहरा बनाउन नेपाल टेलिकमलाई जिम्मा दिने निर्णय र्गयो । तर टेलिकमले पनि झण्डै १० महिनापछि २०७४ असोजमा धरहराबाट हात झिक्यो ।
अनि पुरातत्व विभाग, काठमाण्डौ महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कसले नेतृत्व लिने निर्णय गर्न नै समय लाग्यो । विवादपछि अघिल्लो बर्षको असोजमा प्राधिकरण आफैंले काम सुरु गरी ठेक्का लगाएको हो । प्राधिकरणले ठेक्का दिएको रमण कन्स्ट्रक्सनले काम सुरु गरेसँगै धरहरा पुनर्निर्माणले तिब्रता लिएको हो । २२ तला बन्नुपर्ने धरहराको चार तलाको काम सकिएको छ । जमिनमुनीको भाग बेसमेन्ट २ तलाबाहेक धरहराको चार तला सकिएको हो ।
धरहराको टावर बनाउने काम अहिले धमाधम भैरहेको छ । पुरानो धरहरा ९ तलाको थियो, नयाँ धरहरा पनि झट्ट हेर्दा ९ तला नै देखिन्छ । तर बेसमेन्ट सहित बाहिरबाट ११ तला र भित्र २२ तलाको धरहरा बन्नेछ । अघिल्लो वर्ष पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको शिलान्यास गर्नुभएको थियो । त्यसपछि सबै प्रक्रिया पूरा गरेर रमण कस्ट्रक्सनले काम सुरु गरेको थियो । कुनै पनि बाधा अवरोध विना काम भइरहेकाले अबको दश महिनाभित्र निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्ने निर्माण कम्पनी रमण कस्ट्रक्सनका इन्जिनियर साजद अफताफ आलमको दावी छ ।
धरहरा निर्माणमा खटिएका कामदार तथा मजदुरहरुले पनि लक्ष्यअनुसार समयमा नै सम्पन्न हुने विश्वास गरेका छन् । पछिल्लो समय निर्माणमा कुनै पनि अवरोध आएको छैन । नयाँ धरहरा पुरानोबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिँदै छ ।
गजुरसहित नयाँ धरहराको उचाई करिब ७७ मिटरको हुनेछ । पुनर्निर्माण हुने धरहराको स्वरुप क्षतिग्रस्त धरहराको जस्तै हुन्छ । बाहिरबाट ११ तलामा धरहराको भित्र भित्र २२ तला हुनेछन् । तीमध्ये २० औं तलासम्म पुग्ने दुईतर्फी लिफ्ट हुनेछन् । एक पटकमा १० व्यक्ति अट्ने लिफ्टको क्षमता हुनेछ ।
लिफ्टमा चढेर २० औं तलामा पुगेपछि त्यहीँबाट काठमाडौं अवलोकन गर्ने कक्षको व्यवस्था हुनेछ । भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ । नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाउन लागिएको हो ।