काठमाडौँ, १८ पुस । म्यानमारका पर्यटनमन्त्री अन मोङले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई उडानका लागि आफ्नो सरकार सकारात्मक रहेको बताएका छन । लुम्बिनी भ्रमणका लागि आएका मन्त्री मोङले बर्माको सरकार र त्यहाँका एयरलाइन्स गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि सीधा हवाई उडान गर्न तयार रहेको उनले बताए ।
लुम्बिनीमा श्रीलङ्कापछि सबैभन्दा बढी पर्यटक म्यानमार र थाइल्यान्डका आउने गर्छन् । लुम्बिनीसँग म्यानमार सरकारको प्रगाढ माया र स्नेह रहेको उल्लेख गर्दै मन्त्री अन मोङले सीधा उडानका लागि आफ्नो देश तयार रहेको बताए । मन्त्री मोङसहितको टोलीलाई प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरी, लुम्बिनी विकास कोषका सदस्य सचिव सरोज भट्टराईलगायतले भैरहवा विमानस्थलमा स्वागत गरेको थियो । विमानस्थलमा ओर्लेर सोझै बुद्ध जन्मस्थल लुम्बिनी पुगेका उनले मायादेवी मन्दिरको दर्शन गर्नुका साथै विश्व शान्ति दीप, म्यानमार सरकारद्वारा निर्माण गरिएको मन्दिरलगायतका क्षेत्रको अवलोकन गरेको थियो । त्यस क्रममा कोषका पदाधिकारीसँग पर्यटन प्रवद्र्धन कसरी गर्न सकिन्छ र कसरी बढीभन्दा बढी पर्यटक लुम्बिनीमा भित्र्याउन सकिन्छ भन्नेबारेमा छलफल भएको थियो । नेपाल सरकारले भ्रमण वर्षका रूपमा मनाइरहेको सन् २०२० मा म्यानमारबाट अझ बढी मात्रामा पर्यटक लुम्बिनीमा भित्र्याउन आफूले पहल गर्ने मन्त्री मोङको भनाइ थियो । लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी म्यानमारका नागरिकलाई नेपाल पठाउन पहल गरिरहेको पनि उनले बताए ।
त्यस अवसरमा प्रदेश ५ का पर्यटनमन्त्री लीला गिरीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालनमा आउने बताउँदै म्यानमारको राजधानी याङ्गुन र भैरहवाबीच सीधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । म्यानमारका पर्यटनमन्त्री मोङसँग भुटान सरकारको पर्यटन महाशाखाका प्रमुख र कम्बोडियाका पर्यटन महाशाखा प्रमुख पनि सहभागी थिए ।
गोरखापत्र दैनिकबाट