काठमाडौँ, १८ पुस । सगरमाथा आरोहणमा जानुअघि पासाङ ल्हामु शेर्पा तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितलाई भेट्न पार्टी कार्यालय बागबजार पुगिन् । उनीहरूबीच केही भलाकुसारी भए । पहिलो महिला आरोही बनेर इतिहास लेख्न तम्सिएकी शेर्पालाई राजनीतिमा जबर्जस्त स्थान बनाइरहेका भण्डारीले सफल आरोहणको शुभेच्छा मात्रै दिएनन्, सगरमाथामा फहराउन पार्टीको झन्डा पनि दिए ।
आरोही पासाङ ल्हामु शेर्पालाई सगरमाथामा फहराउन पार्टी झन्डा दिँदै तत्कालीन एमाले महासचिव मदन भण्डारी । ३२ वर्षीया शेर्पा आरोहण सकेर फर्किंदा सगरमाथाकै हिमपहिरोमा पुरिइन् । यो २०५० वैशाख १० गतेको कुरा हो । उता शेर्पाको शव नभेटिँदै उनीसँग पार्टीका तर्फबाट अन्तिम भेट गर्ने भण्डारी र आश्रित चढेको गाडी चितवनको दासढुंगामा पल्टियो, उनीहरूको घटनास्थलमै निधन भयो । भण्डारी–आश्रित दुर्घटनालाई तत्कालीन एमालेले रहस्यमयी भन्दै घटनाको छानबिन गर्ने बताउँदै आयो । दुर्घटना भएको २६ वर्ष पुगिसक्यो, रहस्य गर्भमै छ । मदन भण्डारी र पासाङ ल्हामु शेर्पा दुवै आज यो संसारमा छैनन् । तर उनीहरूकै कारण जोडिएको एमाले र शेर्पा परिवारको सम्बन्धको ‘पहेली’ भने उघ्रिन सुरु भइसकेको छ । यसको पछिल्लो उदाहरण हो– शेर्पाको परिवारले सञ्चालन गरिरहेको व्यापारिक समूह ‘यति वर्ल्ड नेपाल’ प्रति सरकारको सदाशयता ।
२०६२र६३ को जनआन्दोलनअघिसम्म यति समूह त्यति चर्चामा थिएन । जब उसको सम्पर्क जोडिएको तत्कालीन एमाले राजनीतिको अग्रभागमा छाउन थाल्यो, यतिको व्यापारिक सञ्जाल पनि विस्तार हुँदै गयो । यति समूहका हर्ताकर्ताका रूपमा पासाङ ल्हामुका देवर आङछिरिङ शेर्पा देखापरे । उनले एमाले नेतृत्वसँग सम्बन्ध झन् घनिष्ठ बनाउँदै गए । यति एयर चलाइरहेका आङछिरिङको नजर सबभन्दा पहिला गोकर्ण रिसोर्टमा अडियो । पूर्वराजपरिवारको स्वामित्वमा रहेको उक्त रिसोर्ट र गल्फ कोर्स सिंगापुरको एलएम सुभिर ब्रदर्स ट्रेडिङ प्रालिले २०५२ देखि ‘लिज’ मा सञ्चालन गरिरहेको थियो । गणतन्त्र आएपछि नेपाल ट्रस्टमातहत आएको उक्त रिसोर्ट हात पार्ने कसरतमा यति समूहले सबभन्दा बढी साथ पायो, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको । नेकपाका एक उच्च नेताका भनाइमा, २०६६ सालमा यतिले सुभिरसँग गोकर्ण रिसोर्टको ५१ प्रतिशत सेयर किन्न सक्ने व्यवस्था गरिदिन ओली तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग आग्रह गरिरहन्थे ।
तर नेपालले ओलीको कुरा सुनेनन् । त्यतिखेर नेपाल ट्रस्टको जग्गा भाडामा दिने काम नै केही समयका लागि बन्द गरिएको थियो । अन्ततः २०६७ सालमा एलएम सुभिर ब्रदर्सको सेयर खरिद गर्न यति समूह सफल भयो । लगत्तै मन्त्रिपरिषद्मा पहिलो प्रस्ताव नै गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि बढाउनुपर्छ भनेर गएको थियो । तत्कालीन गृहमन्त्री एवं ट्रस्टका अध्यक्ष भीम रावल रिसोर्टको लिज अवधि बढाउनेबारे मन्त्रिपरिषद्मा प्रस्ताव आए पनि त्यतिखेर कुनै निर्णय नभएको सम्झिन्छन् । ‘सुभिरका तर्फबाट लिज अवधि बढाउने प्रस्ताव आएको थियो तर केही गर्न सकिन्न भनेर हामीले निर्णय गरेनौं,’ रावलले कान्तिपुरसँग भने ।
ओलीसँग यति समूहको निकटताको अर्को उदाहरण हो– २०६८ मा उनका विश्वासपात्र गोकुल बाँस्कोटा पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठानको सदस्यमा चुनिनु । २०६८ वैशाख १७ गते बाँस्कोटालाई प्रतिष्ठानको सदस्य चयन गरियो । कृपासुर शेर्पा अध्यक्षमै दोहोरिए । यति समूहसँग ओलीसँगै बाँस्कोटा पनि नजिक भए । हाल सरकारमा प्रवक्तासमेत रहेका उनी ‘यति’ बारे सरकारले गरेका निर्णयको बचाउमा बोलिरहन्छन् । २०६९ कात्तिकमा ओली गम्भीर बिरामी परे । उनलाई एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल पुर्याइयो । दुई सातापछि स्वदेश फर्किए । त्यसको केही दिनमै फेरि बिरामी भएपछि उनी उपचारका लागि सिंगापुर गए । ओली त्यो उपचारको स्मरण अहिले पनि आफू निकटस्थहरूसँग गरिरन्छन् । ‘त्यो बेला मलाई आङछिरिङले बेस्सरी स्याहारसुसार गरेका थिए,’ ओलीको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने ।
गोकर्ण रिसोर्ट यति समूहले सञ्चालन गर्न थालेपछि एमालेका नेताहरू बारम्बार त्यहाँ गइरहन्थे । २०६७ यता उनीहरूको आउजाउ अझ बाक्लिन थाल्यो । पार्टीका महत्त्वपूर्ण छलफल र बैठकहरू त्यहीं हुन थाले । त्यतिखेर संविधानका गम्भीर अन्तरवस्तु र सत्ता समीकरण फेरबदलका बैठकहरू पनि धेरैपटक गोकर्ण रिसोर्टमा भए । त्यही रिसोर्टमा बसेर एमाले नेताहरूले गरेको नाचगानको तस्बिर लामो समयसम्म आलोचित र विवादित बनिरह्यो ।
कान्तिपुर दैनिकबाट