Logo

सुनिन छाड्यो सुरिलो स्वर



काठमाडौँ, १८ पुस । बिहान सबेरै उठ्थे । साउन्ड सिस्टमको झोला भिर्थे अनि जोरपाटीबाट रत्नपार्क जाने गाडी चढ्थे । घामको झुल्कोमा रत्नपार्क, जमल आसपास आइपुग्ने सुर्खेत पञ्चपुरे–२ का विमल खत्रीले तीन वर्षको हिउँद–बर्खा काठमाडौंका सडकमै बिताए ।

काठमाडौं महानगरले सडकमा गीत गाएर पैसा उठाउन नपाइने चेतावनी दिएपछि भृकुटीमण्डपमा भेला भएर आफ्नो व्यथा सुनाउँदै दृष्टिविहीन । उनी जहाँ बस्थे, बिहानदेखि बेलुकासम्म सुरिलो भाकामा गीत गाइरहन्थे । नजिकबाट ओहोरदोहोर गर्ने कतिपय सुरिलो स्वर सुनेर प्लास्टिकको ढक्कीमा पैसा झारिदिन्थे । कतिचाहिँ देखेको नदेख्यै गर्थे तर विमललाई त्यसको हेक्का हुँदैनथ्यो । उनको गीत ककसले सुनिरहेका छन् रु भेउ पाउँदैनथे । पाऊन् पनि कसरी, उनी दुवै आँखाले देख्न सक्दैनन् ।

घाम डुब्नुअघि नै उनी जम्मा भएको पैसा पोको पार्छन् अनि डेरा फर्कन्छन् । बिहानको समय धेरै सहयोग हुने भएकाले पैसा उठ्ने लोभमा उनले बिहानी खाना नखाएको धेरै भइसक्यो । ‘चाउमिन, ममःको भरमा बिहानको खाना टार्छौं । बेलुका भने कोठामा पकाएर खान्छौं,’ उनले भने । सडकमा गीत गाएरै एउटा कोठाको मासिक तीन हजार दुई सय भाडा तिर्थे उनी । गाउँमा ६८ वर्षीय बुबा टेकबहादुर र ६६ वर्षीया आमा रमीका लागि खर्च पनि यतैबाट पठाउँथे । उनको गीत गाउने थलो थियो– जमल । जब गीत गाइरहेका बेला काठमाडौं महानगरपालिकाका प्रहरीले एउटा चोटिलो सन्देश छाडेर गए, त्यसयता उनी र उनका दृष्टिविहीन साथीको अनुहार ओइलाएको छ ।

एक साताअघि ती नगरप्रहरीले भनेका थिए, ‘अब सडकमा गाएर माग्न पाइँदैन । यस्तो काम नरोके पुलिस लगाएर उठाउँछौं ।’ उनीहरूले दिएको सन्देश छोटो थियो तर विमलको अन्तरहृदयमा यसले नराम्ररी घोच्यो । त्यो रात उनी निदाउन सकेनन् । ‘जबरजस्ती सडकमा गाउन जाऊँ भने उठाएर लैजाला भन्ने डर छ,’ डरमिश्रित आवाजमा उनले भने । गीत नगाए अर्थ जुट्दैन, त्यो नभए हातमुख जोडिन्न । जमलमा गीत गाउँदै आएका उनी डराउँदै गल्लीभित्र छिरेर गाउन थालेका थिए । १०र१५ घरको बीचमा गाउन बस्दा पनि प्रहरी लगाइदिने धम्की आएपछि अबको विकल्प के गर्ने भनेर उनी सोच्दै छन् । मंसिर २९ मा १४ जना दृष्टिविहीनलाई बौद्ध स्तूपबाट उठाएपछि उनीजस्ता दृष्टिविहीन थप त्रसित भएका छन् । ‘औंसी पूर्णिमामा बौद्धमा हामी माग्न जान्थ्यौं । प्रहरी लगाएर उठायो,’ टुसालमा कोठा लिएर पशुपतिमा गाउने दृष्टिविहीन धमेन्द्र गुप्ताले भने, ‘अहिले मलाई बौद्ध स्तूपअगाडिकोबाटोबाट चियाउन पनि दिँदैन ।’

घर पठाउने खर्चसमेत नभएपछि विमल र उनका साथी यम गुरुङ बुधबार काठमाडौंको मीनभवन पुगेका थिए । ‘सडकमा गाउन नदिने भए पनि बाँच्न त पर्‍यो नि । बिमा गरेको रकम फिर्ता गरेर भए पनि बुबाआमालाई खर्च पठाउनु छ,’ उनीहरूले भने । काठमाडौं महानगरपालिकाले माग्न नपाउने भन्दै दृष्टिविहीनलाई पनि सडकबाट हट्न चेतावनी दिइसकेको छ । ‘यसरी मागेर नै जीविकोपार्जन गर्न पाइँदैन भनेका छौं । उठाइहालेका छैनौं,’ नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘उनीहरूको चाहनाअनुसार सीप सिकाएर रोजगार बनाउन खोजिरहेका छौं । विकासित देशमा पनि गाएर माग्न त पाइँदैन ।’

सुनधारास्थित नेपाल वायु सेवा निगमको भवनअगाडि गीत गाउने रामेछापका मीनबहादुर तामाङ भने आफ्नो कामलाई माग्नेसँग तुलना गर्न नहुने तर्क गर्छन् । ‘हामीलेआफ्नो प्रस्तुति देखाउँदा कसैले सहयोग गर्छ भने यसलाई मागेको भन्न मिल्दैन,’ उनले भने, ‘खान पाइएन, उपचार गर्न पाइएन भनेर हामी सडकमा माग्न बसेका छैनौं । घोक्रो सुक्ने गरी आफ्नो प्रस्तुति देखाउँछौं । मन लाग्नेले पैसा दिन्छन् ।’ आफूलाई हरेक महिना एक हजार रुपैयाँ सहयोग गर्नेहरू पनि रहेको उनले सुनाए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्