Logo

उखु किसानले भने : ऋषि धमलाको कारण माग पूरा भयो



काठमाडौं, १८ पुष । सर्लाहीका उखु किसानहरुले राहतको महशुस गरेका छन् । लामो समयपछि आफूहरुको माग पूरा हुन लागेको भन्दै उनीहरु खुशी भएका हुन् । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले आउने माघको पहिलो साताभित्रै किसानहरुको भुक्तानी दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री भट्टले उखु किसानहरुको भुक्तानी दिलाउनको लागि आफूले लिखित सहमति नै गर्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्रीको यस्तो प्रतिबद्धता आएपछि उखु किसानहरु आजै घर फर्किने भएका छन् । संघर्ष समितिका संयोजक राकेश मिश्रले विभागीय मन्त्रीबाटै आफूहरुको माग पूरा गराउने प्रतिबद्धता आएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा उपस्थित् भएका उखु किसानहरुले अब आफूहरु घर फर्किने पनि जानकारी दिए । उनीहरुले विभागीय मन्त्रीबाट नै माग पूरा गराउने प्रतिबद्धता आएकोले अब घर फर्किन आफूहरु तयार भएको स्पष्ट पारेका हुन् ।

मिश्रले अघि थपे,‘मिडियाकै कारण हाम्रो आन्दोलन सफल हुन मद्दत पुग्यो । खासगरी प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने पत्रकार ऋषि धमलाको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रमले हाम्रा माग पूरा गराउनको लागि ठूलो भूमिका खेलेको छ । कतिसम्म भने हाम्रो तराईका विभिन्न गाउँघरमा उहाँको कार्यक्रम ठूलो पर्दामा राखेर हेर्ने गरेका छौं । उहाँको कार्यक्रमले गर्दा आज हाम्रो माग पूरा भएको छ ।’

कार्यक्रममा उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफूहरुले सरकारप्रति विश्वास र भरोसा राखेर लामो समयसम्म पर्खेर बसेको सुनाए । तर, लामो समयसम्म पर्खिदापनि माग पूरा नगरेकोमा आफूहरु दुःखित भएको पनि उनले गुनासो पोखे ।

उनले भने,‘सरकारी पक्षबाट हामीले धेरैपटक धोका खायौं । तल्लो तहमा रहेका सरकारी निकायबाट हाम्रा मागप्रति कुनै सुनुवाई भएन । अहिले मन्त्रीज्यूले भनेको कुरामा हामी विश्वस्त छौं । सरकारले भनेको कुरामा विश्वास छ । तर, लिखित प्रतिबद्धता आउनुपर्यो । मन्त्रीज्यूले क्लबको यो साक्षात्कारमा हाम्रो माग पूरा गर्न लिखित प्रतिबद्धता जनाउने कुरा गर्नुभयो । हामी खुशी छौं ।’

अर्का उखु किसान रामविलाष रायले पनि तीन वर्षदेखि आफू मारमा परेको दुखेसो पोखे । उनले भने,‘मैले तीन वर्षदेखि तीन लाख लिनुपरेको छ । तर, यो बीचमा मैले आफ्नो स्वास्थ्योपचारदेखि अन्य धेरै समस्याको समाधान ऋण मागेर गर्नुपरेको छ । अब ऋणको ब्याज तिर्दा म त धेरै ठूलो मारमा पर्छु नि ।’



प्रतिक्रिया दिनुहोस्