काठमाडौं, १८ पौष । लेखराज भट्ट, नेपाली राजनीतिमा उदीयमान नेता हुन् । सुदुरपश्चिम गृहक्षेत्र भएका उनी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् । उनी सरकारमा आएलगत्तै उखु किसानलाई बाँकी रहेको भुक्तानी दिलाउन सक्रिय भइरहेका छन् । भट्टसँग यसै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
ऊखु किसानको माग सम्बोधन गर्न सफल हुनुभयो ?
आफूले भन्नुपर्दा उहाँहरुको माग सम्बोधन गर्न सफल भएको छ । अहिले नेपालका तीनवटा चिनी मिलमा समस्या छ । त्यसमा पहिलो श्रीराम सुगर मिल, उसले ‘तिर्नुपर्ने पैसा तिर्दै व्यवसायलाई पनि अगाडि बढाउछु’, भनेको छ । अर्को अन्नपूर्ण सुगर मिल, त्यसका मालिक पनि सम्पर्कमा आएका छन्, कसरी किसानको मूल्य चुक्ता गराउने भनेर अगाडि बढाउँदैछौं । तेस्रो लुम्बिनी सुगर मिल, यो नेपाल सरकारले लिजमा दिएको हो । त्यो मिलको मालिकको मृत्यु भइसकेको छ । उसको परिवारको खोजी भइरहेको छ । यी सबै समस्याका समाधानका लागि कार्य दल बनाउने निर्णय हुँदैछ ।
आजसम्म किन ऊखु किसानहरुले पैसा पाएनन् ?
अरु मिलहरुले लगभग चुक्ता गरिसकेका छन् । अब बाँकी तीनवटा मिल छन् । तिनलाई पनि सम्पर्कमा ल्याइसकेका छौं । त्यसमा श्रीराम सुगर मिल सुरुदेखि नै सम्पर्कमै छ । उसले किसानको बक्यौता यसरी तिरेर मिल सञ्चालन गर्छु भनेको छ । अन्नपूर्ण पनि सम्पर्कमा आएर छलफल भइरहेको छ । किसानका पैसा तिरेन भने कानुनी प्रक्रियामा ल्याउँछौं ।
तपाईंहरुले भागेकालाई तुरुन्त पाता कस्छौं भन्नुभएको थियो, सक्नुभएन नि ?
मन्त्रालयले पहल नगरेको भए, ‘११ वटा मिलमा तीनवटा मात्रै बाँकी छन्, अरु सबैले भुक्तानी गरिसके’, त्यो कहाँबाट सम्भव थियो ? यी तीनवटाको पनि कसरी भुक्तानी गराउने नभए कानुनी प्रक्रिया के छ भनेर अध्ययन गरिरहेका छौं । यसरी हामी आफ्नो काममा अगाडि बढेका छौं ।
तीनवटा चिनी मिलका मालिक खोज्दै हुनुहुन्छ ?
ती तीनवटामध्ये एकजना हामीसँग निरन्तर सम्पर्कमा छन् । त्यो श्रीराम सुगर मिल हो । उनले आफ्नो व्यापारिक प्लान पनि ‘म यसरी तिर्छु, यसरी मिल सञ्चालन गर्छु’, भने । उनले ल्याएका प्लानहरु कत्तिको उचित छ भनेर हामी गृहकार्य गरिरहेका छौं । किसानसँग पनि पैसा तिर्नको लागि समय मागेका छन् । समस्या देखिएको अन्नपूर्णको हो, त्यसमा हामीले यो महिनाभित्र ८० प्रतिशत र माघ महिनाभित्र पूर्ण रकम चुक्ता हुनुपर्ने भनेका छौं । नभए नेपालको नियम कानुन अनुसार गाडि बढ्ने निर्देशन नै दिइसकेका छौं । मिडियामार्पmत चिनी मिलवालाहरुलाई निर्देशन नै दिइएको हो ।
निर्देशन पालना भएन भने कारबाही गर्नुहुन्छ ?
निश्चित रुपमा त्यसमा त कुनै दुईमतै छैन ।
तपाईंहरुको चलखेल, गठबन्धन, सम्बन्ध त मालिकसँग बढी छ नि ?
चलखेल र गठबन्धन भन्ने शब्द अलि बढी भयो कि । मजदुर र मालिक दुवैसँग बराबर भेटघाट र छलफल गरेका छौं । अहिलेसम्म मजदुर र मालिक दुवैसँगै निश्पक्ष ढंगले न्याय दिलाउन लागेको छु । कतै कतैबाट त्यस्तो तलमाथि हुन आएको प्रमाण भए म कहाँ उभिनुपर्छ तयार छु ।
ऊखु किसानहरुको माग कहिले पुरा होला ?
मैले अगाडि नै भनेको छु, ‘पुस मसान्तसम्म ८० प्रतिशत र माघ महिनाभित्र पुरै चुक्ता हुनुपर्छ,’ अन्था हामी नियम र कानुन बमोजिम कारबाही हुन वाध्य हुनुपर्छ ।
देशमा भ्रष्टाचार बढेको छ, सुशासन छैन नि ?
कहा–कहाँ कमीकमजोरी भयो, हाम्रो पार्टीको स्थायी समिटिमा पनि समीक्षाहरु भएका छन् । जनतालाई डेलिभरी कसरी दिने भनेर गम्भीर रुपमा लागिपरेका छौं ।
यो सरकारले भ्रष्टाचार उन्मुलन गर्न सकेन भन्ने गुनासो छ नि ?
पछिल्लो समय व्यापक रुपमा मौलाएको भ्रष्टाचारलाई कसरी न्यूनिकरण गर्ने भनेर सबै सम्बन्धित निकायहरुले आ–आफ्नो ठाउँबाट सक्रिय रुपमा काम गरिरहेका छन् । नेपालमा भ्रष्टाचार कल्चरको रुपमा अगाडि आएको छ । त्यसलाई नियन्त्रण गर्ने गरी लागेका छौं ।
यो सरकारले सभामुखसम्म चयन गर्न नसकेर गाईजात्रा लेखायो नि ?
यस विषयमा केही नमिलेका कुराहरु छन् । छलफल गरेर छिट्टै मिल्छ ।
कहिलेसम्म मिल्छ ? प्रधामन्त्रीले राखेको प्रस्ताव प्रचण्डले अस्वीकार गर्नुभयो नि ?
दुई शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । पार्टीले पनि यसलाई गम्भीरतापूर्वक लिएको छ । पार्टीको विधिमा मिल्ने हो, नमिल्नुपर्ने कुनै कारण छैन ।
देशले २७ गतेसम्म सभामुृख पाउँछ ?
आउँछ भन्ने नै मलाई विश्वास छ ।
पूर्व एमाले र पूर्व माओवादी कसले पाउँछ ?
पूर्व भन्ने भएन, पार्टीबाट जो व्यक्ति भएपनि आउँछ ।
सुभाश नेम्वाङ, देव गुरुङ र अग्निमध्ये को हुन्छ ?
मैंले भनिहाले नि जो भए पनि पार्टीले पार्टीकै नेतालाई ल्याउँछ । यो पार्टीले गर्ने निर्णय हो, व्यक्तिले होइन ।
सरकारको यति ग्रुपसँग राम्रो साइनो रहेछ नि ?
यति ग्रुपसँग मात्रै होइन सबैसँग राम्रो छ । औद्योगिक कुरा गर्दा सहजता बनाउने कुरा होला । तर, साइनो कसको कहाँ छ, त्यो मैंले बुझेको छैन ।
यो सरकारको यति समूहसँग विशेष सम्बन्ध भयो नि ?
सरकारको त सबैसँग राम्रो सम्बन्ध होला नि ।
भारतले हामी कालापानी छोड्दैनौं भन्यो नि ?
उसले दिँदैनौ भन्नुभन्दा पनि, वार्ताबाटै सबै समस्याहरु समाधान गर्ने भनेको छ । हामीले पनि हाम्रा तथ्यहरु पेश गर्ने भनेका छौं । त्यसकारण कसले के भन्यो भन्दैमा अहिले नै रिजल्टै आइसक्यो नभनौं ।
भारत त आफ्नो हडान टसमस भएको छैन नि ?
हामीले पनि हाम्रो तथ्यहरु जुटाउँदैछौं । हिजो त त्यो पनि थिएन, आज त कम्तिमा हाम्रो भनेर दाबी त गर्यौं ।
देशमा मौसम अनुसारका कालाबजारीहरु ह्वात्तै बढेका छन्, खोइन अनुगमन ?
सम्बन्धित क्षेत्रमा अनुगमन भइराखेको छ । अब मन्त्रीहरु नै लालालस्कर लागेर जाने कुरा भएन । महंगीको अनुगमन गर्ने दक्ष जशक्ति के–कति चाहिन्छ भन्ने गृहकार्यमा छौं ।
निर्माण क्षेत्रको कुरा गर्दा सिमेन्टहरुमा अस्वस्थ प्रतिस्पर्धाले मनलागी भइरहेको छ नि ?
त्यसको लागि पनि हामीले सिमेन्ट उद्योगीहरुलाई बोलाएर छलफल गर्ने भएका छौं । कुन–कुन सिमेन्ट कम्पनीले मनलागी गरेका छन्, गुणस्तरहीन उत्पादन र वितरण गरेका छन् उनीहरुलाई कारबाही गर्न तयार छौं ।
पहिला कारबाही गरेर देखाउनुपर्यो नि ?
कहीं न कहींबाट प्रमाण सूचनाहरु त आउनुपर्यो । त्यो नभइ त्यसै कारबाही गर्ने मात्रै भनेर हुँदैन ।
यो सरकार सफल कि असफल ?
मलाई त सफलै लाग्छ । सामान्य कमीकमजारीहरु भएन होलान् । विकासको कुरा ठूलो–ठूलो जग हालेर अगाडि बढेको जस्तो लाग्छ ।- File Photo