Logo

नारायणकाजीलाई पदको लोभ, प्रतिनिधिसभामा हारेर राष्ट्रियसभामा



पुष १८, काठमाण्डौ । माघ नौ गने हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले बनाएका उम्मेदवारहमध्ये सबैभन्दा चर्चित व्यक्ति हुन्, नारायणकाजी श्रेष्ठ । अहिले सत्तारुढ दल नेकपा सचिवाल सदस्य मात्रै होइन, प्रवक्तासमेत हुन् । अर्को रोचक पक्ष के हो भने श्रेष्ठ प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित उम्मेदवार हुन् । अर्थात उनलाई जनताले अस्वीकार गरेका थिए । पदको लोभकै कारण अन्तत उनी पनि राष्ट्रियसभा सदस्य बन्ने लगभग पक्कापक्की जस्तै भएको छ ।

२०७४ साल मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर दुईबाट पराजित भएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाइएको छ । तत्कालिन नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग श्रेष्ठ ६ हजार ८७४ मतान्तरले पराजित भएका थिए । तत्कालिन माओवादी केन्द्रका नेता श्रेष्ठको पराजयले बाम गठबन्धनलाई ठूलै धक्का लागेको थियो । प्रतिनिधिसभामा पराजित भएपछि त्यसबेलादेखि नै श्रेष्ठलाई राष्ट्रियसभामा लैजाने चर्चा थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्न पाउने तीन सदस्यभित्र श्रेष्ठलाईइ राखिन्छ भन्ने अनुमान थियो । तर त्यसबेला श्रेष्ठले नै इच्छा देखाएनन् । २०७५ साल जेठ तीन गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भयो । एकतापछि ९ सदस्यीय सचिवालय गठन भयो । श्रेष्ठलाई सचिवालय सदस्यसँगै प्रवक्ताको जिम्मेवारी दिइयो ।

२०७५ साल साउन १६ गते श्रेष्ठले नेकपाको प्रवक्ता पदबाट राजीनामा दिएका थिए । त्यसबेला प्राडा गोविन्द केसीको अनसनको समर्थनमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठकमा स्पष्टिकरण मागेपछि श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका हुन् । तर उनको राजीनामा स्वीकृत भएन । पछि प्रवक्तामै कायम रहे । प्रवक्ताको रुपमा रहँदै आएका श्रेष्ठलाई नेकपाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ । श्रेष्ठको जित सुनिश्चित जस्तै हो । तर यसअघि श्रेष्ठले आफूलाई जनप्रतिनिधिले अस्वीकार गरेकाले कुनै पनि लाभको पद नलिने अभिव्यक्ति दिएका थिए ।

उनै श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र पद, पावर र पैसाको पछि लाग्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्ने गर्दथे । तर जनताले पराजित गरेको विर्सेर राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न तयार भए । अपाङ्गता अल्पसंख्या कोटाबाट उम्मेदवार बनाइएको जगप्रसाद शर्मा पनि प्रदेश सभामा पराजित नेता हुन् ।

दाङ क्षेत्रनम्बर तीन प्रदेश क को चुनावमा शर्मा पराजित भएका थिए । शर्मालाई पनि नेकपाले राष्ट्रियसभा लैजाने निर्णय गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा पराजित अर्का नेता बामदेव गौतमलाई पनि राष्ट्रियसभामा लैजाने चर्चा थियो । तर बामदेव स्वयमले अस्वीकार गरेको बताइएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभामा आउन प्रस्ताव गरेको भएपनि उनले राष्ट्रिय सभामा जाँदैमा प्रधानमन्त्री बन्ने बाटो खुला नहुने भन्दै चाहना नदेखाएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्