Logo

आर्थिक जीवनस्तरको विकास र निर्माण तीव्र : मन्त्री आङ्बो



भद्रपुर, १९ पुस : प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले प्रदेश सरकार समग्र जनताको आर्थिक जीवनस्तर उकास्ने विकास र निर्माणमा तीव्रगतिका साथ लागेको जनाउँदै चालू आर्थिक वर्ष शिलान्यासको वर्ष भएको बताए ।

प्रदेशको तीन मुख्य गौरवको सडक आयोजनामध्ये झापाको भद्रपुर नगरपालिकादेखि इलामको रोङ गाउँपालिकासम्मको ३५ किलोमिटर दुई लेन सडकको आज शिलान्यास गर्दै मन्त्री आङ्बोले चालू आवभरि आयोजना शिलान्यासका समाचार आइरहने बताए ।

बजेटको ४७ प्रतिशतभन्दा बढी हिस्सा पूर्वाधार विकासले ओगटेको उल्लेख गर्दै उनले प्रदेश सरकारको पहिलो वर्ष सङ्घीयता कार्यान्वयनका लागि कानून निर्माणको आधार वर्ष, दोस्रो वर्ष शिलान्यासको वर्ष र आउँदो वर्षदेखि उद्घाटनको वर्ष हुने बताए ।

मन्त्री आङ्बोले मेचीनगर–१५ ज्यामिरगढीमा आज भद्रपुर–ज्यामिरगढी–धुलावारी–गोजावस्ती–मागुरमाडी–शान्तिनगर–इरौटार सडकको शिलान्यास गरेका हुन् । प्रदेश नं १ को पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजेशप्रसाद घिमिरेका अनुसार सो सडक निर्माणको ठेक्का सम्झौता २०७६ कात्तिक २० गते भएको थियो भने २०७९ असार ३१ गते आयोजना सम्पन्न गरिसक्ने म्याद तोकिएको छ ।

सडकको निर्माणलाई दुई खण्डमा ठेक्का लगाइएको छ । मेचीनगर–१० स्थित धुलाबारीदेखि उत्तरको २६ किलोमिटर सडकको ठेक्का विर्तामोडको कनकाई झापाली जेभीलाई ४६ करोड २३ लाख ८२ हजार ९८३ रुपैयाँ २५ पैसामा दिइएको छ भने धुलाबारी दक्षिणको नौ किलोमिटर सडकको ठेक्का अर्जुनधाराको हिम्डुङ एण्ड थोकर सरोज जेभीलाई २५ करोड ३२ लाख ८४ हजार ८२२ रुपैयाँ ४८ पैसामा दिइएको छ ।

सडक शिलान्यास कार्यक्रममा निर्माणको ठेक्का लिने व्यवसायीले समेत समयमै निर्माणकार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । सडक निर्माणको काममा गुणस्तरमा कुनै सम्झौता नहुने र भनेबमोजिमको काम नभएको पाइए तत्काल कारवाही अघि बढाइने पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्