Logo

भ्रमण वर्ष सफल बनाउन वसन्तपुर–स्वयम्भूमा सम्पदा पदयात्रासहित सफाइ



काठमाडौँ, १९ पुस : नेपाल भ्रमण वर्षलाई सफल बनाउन शुरु गरिएको सम्पदा यात्राको दोस्रो हप्तामा विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरबाट स्वयम्भू क्षेत्रसम्म पैदलयात्रा गरिएको छ ।

यात्रामा वाग्मती सफाइ महाअभियानलगायत उपत्यकाका रुद्रमती, विष्णुमती, चक्रपथ उत्तर र पश्चिम खण्ड, मनोहरा, गोदावरीखोलालगायत सफाइ अभियानका अभियानकर्मीका साथै स्थानीयवासीको सहभागिता थियो । यात्रामा कीर्तिमानीधावक वैकुण्ठ मानन्धर सहभागी भएका थिए ।

यात्रा समूह स्वयम्भूमा पुगेपछि आयोजित सभालाई सम्बोधन गर्नुहुँदै सांसद जीवनराम श्रेष्ठले सफाइ अभियानले फोहर गर्नुहुन्न भनी जनताको दिमागमा घुसाउन सफल भएको बताए । वाग्मती सफाइ महाअभियानजस्तै सम्पदा पदयात्रा र सफाइ अभियानलाई पनि लामो समय निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।

कीर्तिमानी धावक मानन्धरले देशकै सभ्यताको स्रोत राजधानीको संस्कृति जोगाउन सबै मिलेर अघि बढ्नुपर्ने बताए । सफाइ अभियानकर्मी किशोरसिंह शाही, रोहित गिरी, माला खरेल, ताराबहादुर कुँवरलगायतले अभियानलाई भ्रमण वर्षभर निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा पुस १२ गते शनिबार बिहान विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रबाट वसन्तपुरसम्म पैदलयात्रा गरी यो अभियान शुरु भएको हो । शुरुमा एक महिनाका लागि घोषणा गरिएको अभियानमा जनसहभागिता जु्ट्नुका साथै वर्षभर गर्नुपर्ने माग आएपछि शुक्रबारको अभियानकर्मीको बैठकले नेपाल भ्रमण वर्ष २०२० भर कार्यक्रम जारी राख्ने निर्णय गरेको थियो ।

भ्रमण वर्ष २०२० भर देशभरका सम्पदा सफाइ गर्न जनचेतना जगाउने उद्देश्यले सम्पदा पैदलयात्रा जारी राखिने जनाइएको छ । पुस २६ गते शनिबार विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा सफाइसहित यात्रा गरिनेछ । कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र सांसद गगनकुमार थापा सहभागी हुनुहुने जनाइएको छ ।

यसैगरी माघ ४ गते शनिबार भक्तपुर दरबार क्षेत्रका सम्पदामा सम्पदा पदयात्रासहित सफाइ गरिने अभियानकर्मी गिरीले जानकारी दिए । यो यात्रामा भने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सहभागी हुने वचन दिएका छन् । त्यसपछिका कार्यक्रम भने पछि तय गरिने जनाइएको छ । भ्रमण वर्षमा विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल सम्पदा क्षेत्र हुने भएकाले यो अभियान शुरु गरिएको हो । पुसको चिसो र झरीको समय भए पनि यात्रामा उत्साहजनक सहभागिता जुट्ने गरेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot