Logo

कांग्रेसको गुटमा फेरबदल, कुन नेता कता गए ?



पुष १९, काठमाण्डौ । नेपाली काँग्रेसमा गुटहरु बन्दै भत्किदै गर्ने प्रवृृत्ति पुरानै हो । नेताहरु जुन गटुमा बस्दा स्वार्थ पूरा हुन्छ त्यही गुटमा जाने गर्दछन् । एउटै नेता कहिले संस्थापन पक्षमा त कहिले गुटको नेतृत्व अर्को नेताको निकट हुनु स्वभाविक जस्तै भइसक्यो । पछिल्लो समय कांग्रेसको शीर्ष तहमा भइरहेको झगडाकैबीच नेताहरुले गुट परिवर्तन गर्न थालेका छन् ।

गत मंसिर २६ गते यता नेपाली काँग्रेसमा बहिस्कार र बहुमतको निर्णय चर्चामा छ । पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका घोषणा, क्रियाशील सदस्यतासम्बन्धी विधानका केही प्रावधान निलम्बन, विभागको संख्या बढाउने र तरुण दलको कार्यकाल थप ६ महिना बढाउने निर्णयले सभापति शेरबहादुर देउवा, वरिष्ट नेता रामचन्द्र पौडेल र पूर्व सहमहामन्त्री कृष्ण सिटौलापक्षधर विभाजित भएका हुन् । देउवा एकातिर छन् भने पौडेल–सिटौला अर्कोतिर ।

तर तिन जना नेताकै पछि लागेर स्वार्थ पूरा गर्न चाहने केही केन्द्रिय सदस्यहरुले भने गुट परिवर्तन गरेका छन् । १३ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका डा. नारायण खड्का, आनन्दप्रसाद ढुंगाना र गोविन्द भट्टराईले यतिबेला सभापति शेरबहादुर देउवा ‘क्याम्प’ रोजेका छन् । पौडेल क्याम्पबाट बसाइँ सरेका चीनकाजी श्रेष्ठ र नरहरि आचार्य पनि फेरि देउवा क्याम्प मै फर्किएका छन् । पार्टी र राष्ट्रको हितभन्दा बढि व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्दा पार्टीभित्र द्धन्द्व बढेको कांग्रेस नेताहरु बताउँछन् ।

कांग्रेसभित्र गुटको गिरोह मौलाउँदै गएको विश्लेषक पुरन्जन आचार्य बताउँछन् । शीर्ष नेताहरुले नै गुट र विभाजनको बाटो रोज्दा समस्या सृजना भएको आचार्यको तर्क छ । १३ औँ महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य लक्ष्मण घिमिरे भने पौडेल समूहमा पुगेका छन् । कुलबहादुर गुरुङ र गोविन्दराज जोशीले पनि देउवा क्याम्पमा छाडेर तटस्थ बसेका छन् । यता काँग्रेसको तेस्रो धार मानिने कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारका २ जना केन्द्रीय सदस्य देउवातिर सरेका छन् ।

सिटौलालाई केन्द्रीय सदस्य गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल र शिव हुमागाईको बलियो साथ रहेकोमा यतिबेला चौधरी र हुमागाईले क्याम्प छाडेर देउवातिर प्रवेश गरेका हुन् । यद्यपि सिटौला आफ्नो समूहको अस्तित्व जोगाउन प्रयासरत छन् । गएको निर्वाचनपछि एजेण्डागत रुपमा पौडल पक्षसँगै नजिक देखिएको सिटौला समूह देउवा र पौडेल आन्तरिक रणनीतिमा जुटेपछि आफ्नो समूहको अस्तित्व जोगाउन कुनै पनि बैठकमा सहभागी नभएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्