Logo

सुरुङमार्गको युग सुरु



काठमाडौँ, २० पुस । मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग सुरु भएको छ । हाल एउटा सुरुङ मार्गको निर्माण कार्य सुरु भएको छ भने अन्य छवटा सुरुङ मार्गको अध्ययन सकिएको छ ।

त्यसैगरी एउटाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको छ । बाँकी पाँचवटाको प्रारम्भिक अध्ययन भइरहेको छ । नेपालको सडक यातायात प्रणालीलाई आधुनिकीकरण गर्न सुरुङ मार्गको अध्ययन तीव्र पारिएको छ । जुन गतिमा अध्ययन भइरहेको छ तर त्यही गतिमा निर्माण कार्य भने सुरु भइसकेको छैन । समृद्धि र विकासलाई तीव्रता प्रदान गर्न सरकारले सुरुङमार्ग निर्माणमा जोड दिएसँगै मुलुकको यातायात सुरुङ युगमा प्रवेश गर्न लागेको भनाइ सरकारको छ । नागढुङ्गादेखि सिस्नेखोलासम्म सुरुङमार्गको निर्माण कार्य सुरु भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते नागढुङ्गादेखि सिस्नेखोलासम्म सुरुङमार्गको शिलान्यास गरेको थियो । अहिले त्यहाँ काम भइरहेको छ ।

पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा, सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोटमा, दोलखा जिल्लाको लामाबगरमा सुरुङमार्गको ‘सम्भाव्यता अध्ययन’ प्रतिवेदन तयार भई निर्माण सम्भव देखिएको छ । त्यसैगरी मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–बाग्लुङ खण्डको हेम्जामा, मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार छ । इटेको–होमल्यान्ड–नर्थ स्टार जेभी कम्पनीले सम्भाव्यता अध्ययन गरेको हो । सुरुङमार्गहरूको पूर्वसम्भाव्यता अध्ययनका लागि २०७४ कात्तिक २४ गते सडक विभाग र इटेको–होमल्यान्ड–नर्थ स्टारबीच सम्झौता भएको थियो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मुलुकको सडक यातायात सुरुङमार्ग युगोन्मुख भएको बताउँदै मुलुकको सडक सञ्जाललाई छोटो, सहज र जोखिममुक्त बनाउने प्रयास स्वरूप सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखी यसको निर्माण प्रक्रियालाई अगाडि बढाइएको बताए ।

अहिले काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म र थानकोटदेखि मकवानपुरको चिल्लाङसम्म सुरुङमार्ग निर्माणका लागि अध्ययन कार्य सुरु भइसकेको जानकारीसमेत उनले दिए । चालू अर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा चालू १३ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने लक्ष्य रहेको छ । चालू आवमा सुरुङमार्गको अध्ययनका लागि ५९ करोड रुपियाँ विनियोजन गरिएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्