Logo

प्रदेश ३ नाम र राजधानी, नेकपाभित्रै असन्तुष्टि



काठमाडौँ, २० पुस । प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने नेकपा सचिवालयको निर्णयमा पार्टीका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन्। प्रदेशसभाको अधिकारमा पार्टी केन्द्रबाट हस्तक्षेप भएको आरोप उनीहरूको छ। शुक्रबार र शनिबार प्रदेश संसदीय दलको बैठकमा बोल्ने कतिपय सदस्यहरूले भने पार्टी सचिवालयको निर्णय मान्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

बैठकमा शुक्रबार बोलेका १७ जना प्रदेशसभा सदस्यमध्ये अधिकांशले पार्टी निर्णयको विरोध गरेका थिए। शनिबार पनि ३ जना सदस्यले पार्टी निर्णयको विरोध गरेका छन् । प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले संविधानले व्यवस्था गरेको अधिकार प्रदेशसभाले स्वतन्त्र ढंगले प्रयोग गर्न पाउनुपर्ने बताए। अष्टलक्ष्मी शाक्य, केशव स्थापित, राजेश शाक्यलगायत पनि सचिवालयको निर्णय सहजै मान्ने पक्षमा छैनन् । अर्का सदस्य विनोदकुमार खड्काले कम्युनिस्ट पार्टीको कार्यकर्ता भएपछि केन्द्रको निर्णय मान्नैपर्ने बताए । ‘कम्युनिस्ट पार्टीमा खुला छलफल हुन्छ। तर हामी निर्णयमा पुग्दा एकमत हुन्छौं’, नेकपाका मुख्य सचतेक रामेश्वर फुयाँलले भने, ‘प्रदेशसभामा हामी प्रदेशको स्थायी राजधानी र नामबारे एकमत भएर जानेछौं ।’

अर्की सदस्य जुनेली श्रेष्ठले पार्टीकै तर्फबाट सांसदको हैसियतमा पुगेपछि पार्टीको निर्णय मान्न बाध्य हुनुपर्ने बताइन्। नेकपाका ८० जना प्रदेशसभा सदस्यमध्ये ६२ जनाले बोल्न नाम टिपाएका छन्। ‘आइतबार बिहान १० बजेदेखि पुनः बैठक सुरु हुन्छ, २२ जनाले बोल्न बाँकी छ’, प्रमुख सचेतक फुयाँलले भने, ‘अरू माननीयले बोल्न नाम टिपाउनुभएन भने भोलिसम्म हामी संसदीय दलको एउटै धारणा बनाउँछौं ।’ पार्टी केन्द्रको निर्णयविरुद्ध प्रदेशसभा सदस्यहरुले बोल्न थालेपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपा प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री डोरमणि पौडेललगायतलाई बोलाएर सचिवालयको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्