काठमाडौं, २० पुष । संघीय संंसद् संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्य पदमा प्रस्तावित लक्ष्मीबहादुर ‘निराला’ खड्काको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ । आज बसेको समितिको बैठकले उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।
न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । परिषद्का सदस्य पदम वैदिकले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले निरालाको नाम प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएका हुन् । निराला मुलुकका पुराना र बरिष्ठ वकिल हुन् ।
समितिका सभापति लक्ष्मणलाल कर्णको नाममा जारी निर्णयमा भनिएको छ,‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प.स. ०७६–०७७ म.स.स.–३२२–३६०५ मिति २०७६ पुष ४ को पत्रानुसार न्याय परिषदको सदस्य पदमा नियुक्तिको लागि श्री लक्ष्मी बहादुर निराला खड्कालाई प्रस्ताव गरी नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सनुुवाईका लागि पठाईएकोमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्यविधि २०७५ बमोजिम सुनुवाई गर्दा प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभवको आधारमा उक्त पदका लागि योग्य देखिनुभएको हुँदा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियामावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम उक्त पदका लागि प्रस्तावित श्री लक्ष्मी बहादुर निराला खड्काको नाम सर्वसम्मतीले अनुमोदन गर्ने निर्णय गरियो ।’
यसअघि केही समय उनले महान्यायाधिवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम