काठमाडौं, २० पौष । नेपाल र भारतका निजी क्षेत्रका दुई ठूला बैंकबीच साझेदारी भएको छ । नबिल बैंक र भारतको आइसीआइसीआइ बैंकबीच साझेदारी भएको हो । नेपालमा प्रतिनिधि कार्यालय खोल्ने तयारी गरिरहेको आइसीआइसीआइ बैंकले नबिल बैंकलाई लगानी र व्यापार लगायतका क्षेत्रमा सघाउने छ । सम्झौताले दुई संस्थाबीच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स) र ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क (ढाँचा) सिर्जना गर्ने प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए ।
सम्झौतापत्रमा शाह र आइसीआइसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले हस्ताक्षर गरेका छन् । नबिल बैंकको केन्द्रीय कार्यालयमा समझदारी भएको हो । सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा सहकार्य गर्ने छन् । नबिल बैंकले नेपालमा बलियो बजार पहुँच बनाएको छ । त्यसैगरी आइसीआइसीआइ बैंकले बैंकिङ तथा फ्रेन्चाइज विस्तार (भारतभरका साथै केही प्रमुख विश्व बजार) मा विशिष्टता हासिल गरेको छ ।’
सहकार्य गर्दा ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति) को प्रभावकारी रूपमा लाभ उठाउन सकिने बताइएको छ । आइसीआइसीआइ बैंकले भारतमा ५२२८ शाखा तथा १५१५९ एटिएम काउन्टरहरू, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र फोन बैंकिङ लगायत मल्टि–च्यानल डेलिभरी नेटवर्कमार्फत ठूलो संख्यामा रहेका आफ्ना ग्राहक (कस्टुमर बेस) लाई सेवा दिँदै आएको छ ।