Logo

पार्टीमा समान व्यवहार हुनुपर्छ : नेपाल



अत्तरिया, २० पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने बताएका छन् । पुष्पलाल मञ्च नेपालद्वारा आज धनगढीमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीयता र समृद्धि’ विषयको कार्यक्रममा उनले पार्टीभित्र गुटउपगुट बनाई कार्यकर्तालाई हेप्ने र पछाडि पार्ने प्रवृत्ति देखिएको तथा योग्यता र क्षमता भएका व्यक्तिमाथि अपमान भइरहेको बताए ।

नेता नेपालले पार्टीमा हाटहुटे व्यक्ति हावी भएमा पार्टी सकिने बताउँदै सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार गरेर अघि बढ्नाको विकल्प नभएकामा जोड दिए । “पार्टीमा एउटै गल्ती गर्दा कसैलाई फसाउने, कसैलाई पूजा गर्ने प्रवृत्ति बढेको छ, नियमकानून सबैलाई बराबर लागू हुनुपर्छ, कसैलाई पाखा त कसैलाई काखी गरिनुहुन्न ।”

उनले एमसिसी अनुदान सहयोग नेपालको हित विपरीत भएको जिकिर गर्दै त्यसमा रहेका केही बुँदा सच्याउनुपर्ने बताए । नेता नेपालले तीनै तहका सरकारले एकापसमा समन्वय गरेर विकासनिर्माणका कामलाई प्राथमिकता राख्नुपर्नेमा जोड दिए । उनले भ्रमण वर्ष सफल पार्न तीनै तहका सरकारले विशेष योजना बनाएर अघि बढ्नुपर्ने तथा सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि योजनाबद्धरुपमा लाग्नुपर्ने सुझाव पनि दिए। File Photo



प्रतिक्रिया दिनुहोस्