Logo

कांग्रेसको उम्मेदवारी औपचारिकता मात्रै : १६ नेकपा, २ राजपाको जित सुनिश्चित !



पुष २०, काठमाण्डौ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यमध्ये १९ जनाको आउँदो २० फागुनमा पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने छ । १८ जनाको निर्वाचन माघ ९ गते हुँदैछ ।

राष्ट्रिय सभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

राष्ट्रियसभामा १८ मध्ये २ स्थानमा राष्ट्रिय जनता पार्टी र १६ सांसद नेकपाकै निर्वाचित हुने निश्चित छ । कांग्रेसले पहिलो दुईवर्षपछि सात सदस्य राष्ट्रियसभामा गुमाउँदैछ । ५९ सदस्यीय सभामा कांग्रेसले १३ सांसद पाएको थियो । जसमा ७ जनाको कार्यकाल सकिएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा ७५३ स्थानीय तहका १५०६ र प्रदेशसभा सदस्य ५५० गरी २०५६ मतदाता छन् । जसमा महिला मतदाता ९०७ र पुरुष मतदाता ११४९ रहेका छन् ।

स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष मतदाता छन् भने प्रदेश सभामा १८९ महिला र ३६१ पुरुष मतदाता छन् । जसमा सत्तारुढ दल नेकपाको बलियो उपस्थिति छ ।

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ । १३ जना मध्ये ७ जनाको कार्यकाल सकिएसँगै राष्ट्रियसभामा कांग्रेस अब ६ सांसदमा सीमित हुनेछ । किनकी माघ ९ गते हुने निर्वाचनमा कांग्रेसबाट एक जना पनि विजयी हुने सम्भावना देखिदैन ।

प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेकपाकै सरकार छ। प्रदेश २ मा भने समाजवादी पार्टीको सरकार छ। प्रदेश सरकारमा कमजोर रहेको कांग्रेस स्थानीय तहमा पनि संख्यात्मक हिसाबले कमजोर छ। यही कारण पनि राष्ट्रियसभामा कांग्रेसको उपस्थिति विस्तारै घट्दै जानेछ ।

यद्यपी प्रदेश दुईमा कांग्रेस र समाजवादी पार्टी नेपाल तथा नेकपा र राजपाबीच चुनावी तालमेल भएको छ । त्यहाँको नतिजा अनुमानविपरित नआउला भन्न सकिदैन ।

नेकपा भने १६ सांसद भित्र्याउँदै थप बलियो बन्ने देखिन्छ । कुनै पनि प्रदेशमा सरकार बनाउन नसकेको प्रमुख प्रतिपक्षी कांग्रेसको स्थानीय तहमा पनि कमजोर उपस्थिति छ । राष्ट्रिय सभामा ५९ सदस्य छन् । जसमध्ये १९ जना सांसदको कार्यकाल फागुन २० गते सकिँदैछ ।

१८ जना सांसद निर्वाचनको प्रक्रियाबाट छानिनेछन् भने १ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । राष्ट्रियसभा सदस्यका लागि प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना गरी निर्वाचित गर्नुपर्ने हुन्छ ।

राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् । २० फागुनमा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना सदस्य छन् ।

राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्षरउपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ । राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सात जना निर्वाचित हुनेछन् ।

संघीय संसद्को माथिल्लो सभाका रूपमा रहने राष्ट्रियसभामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान र्पुयाएका प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने संविधानले परिकल्पना गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि १६ जनाले उम्मेद्वारी दिएका छन् । प्रदेश १ बाट इन्दु गौतम, देवेन्द्र दाहाल र गोपी अछामी, प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवान, प्रदेश ३ बाट गंगा बेलवासे र डा. बेदुराम भुसालले उम्मेदवारी दिएका छन् ।

त्यस्तै गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ, प्रदेश ५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा, कर्णाली प्रदेशबाट सुमित्रा बिसी र मायाप्रसाद शर्मा उम्मेद्वार छन् । तारामान स्वाँर र शारदा भट्ट सुदूरपश्चिम प्रदेशबाट उम्मेद्वार बनेका छन् ।

प्रतिपक्ष नेपाली कांग्रेसले प्रदेश १ बाट निरबहादुर विश्वकर्मा, मिना पुलामी मगर र राजेन्द्र घिमिरे प्रदेश २ बाट नागिना यादव र भोला पन्जियार प्रदेश ३ बाट हरिशरण श्रेष्ठ, छलीकुमारी शर्मा र सूर्यप्रसाद रेग्मी, कर्णाली प्रदेशबाट विमला गौचन, प्रदेश ५ बाट बालकृष्ण पाण्डे, गिरिजा न्यौपाने र मेराज हलवाई, कर्णाली प्रदेशबाट डिल्लिराम पाठक र सवित्रा पौडेल, सुदूरपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना र तुलसी देवकोटालाई उम्मेदवार बनाएको छ ।

यस्तै, राजपा नेपालले प्रदेश २ बाट मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई र संघीय समाजवादी पार्टीले रामप्रीत पासवानलाई उम्मेदवार बनाएको छ । प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी र कांग्रेसले संघीय समाजवादी पार्टीसँग तालमेल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्