Logo

नेपाल ट्रस्टको सम्पत्तिबारे छिट्टै श्वेतपत्र



काठमाडौँ, २१ पुस । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिले गोकर्ण रिसोर्टलगायत नेपाल ट्रस्टको बारेमा जे जति जिज्ञासा उठेका छन्, तिनका बारेमा छिट्टै श्वेतपत्र जारी गरिने बताएको छ ।

गोरखापत्र संवाद कार्यक्रममा आइतबार नेपाल ट्रस्टका अध्यक्षसमेत भएका उपप्रधानमन्त्री पोखरेलले भने, “यो लुकाउने विषय नै होइन । पूर्वमा धनकुटादेखि पश्चिम सुर्खेतसम्म पूर्वराजपरिवारको कति जग्गा छ पैसा, सेयर कति छ सबै जानकारी गराउने छौँ । ” उनले नेपाल ट्रस्टअन्तर्गत आएका त्यस्ता जग्गा र सम्पत्तिको उपयोगबारे कानुनी प्रबन्ध के छ, लिज भाडाको विषय के हो, सबै ऐनाजस्तै छर्लङ्ग पारिने छ भने । अहिले गोकर्ण रिसोर्ट र राजदरबारको जग्गा भाडामा दिइएको विषयमा जुन जिज्ञासा छ, त्यसमा पारदर्शी र कानुनसम्मत ढङ्गले काम भएको दाबी पोखरेलले गरे ।

सरकारले राष्ट्रिय स्वार्थमा केन्द्रित भएर काम गरिरहेको र देशलाई अहित हुने कुनै काम नगर्ने उनले प्रस्ट पारे। “मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी, बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई आयोजनालाई सरकारले मान्यता दिनुमा राष्ट्रिय स्वार्थ निहित छ”, उनले भने । एमसीसी अँगाल्दा अमेरिकी पक्षधर र बीआरआई अँगाल्दा चिनियाँ पक्षधर देख्नु हेर्नेको दृष्टिदोष मात्र भएको उनले स्पष्ट पारे। सरकार गठन भएको करिब दुई वर्षमा जनताले अनुभूति गर्ने गरी काम नभएकोे जिज्ञासामा उनले भने, “राजनीति र संवैधानिक परिवर्तनपछि यो सरकार गठन भएको हो ।

प्रणाली त परिवर्तन भयो, त्यसका लागि विशेष कानुन, नीति र संरचना बनाउन समय लागेकाले जनताले अनुभूति गर्ने गरी काम नदेखिएको हो । ” “नयाँ प्रणाली तर पुराना कानुन रहुन्जेल कसरी काम होला हो यही अवस्थामा हामी छौँ”, उपप्रधानमन्त्री पोखरेलले थपे, “संविधानको किटानी व्यवस्था कार्यान्वयन गर्न त ठोस कानुन चाहिन्छ नै, प्रक्रियामा जाँदा केही समय लागेको हो । अब बाँकी समयमा जनताले अनुभूत हुने गरी काम देखिन्छ । ”
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्