काठमाडौँ, २१ पुस । पैसा छोए पाप लाग्छ भन्ने नेपाली समुदाय कुन हो ’ लोकसेवा आयोगका लागि सोधिने सामान्य ज्ञानमा प्रायः यो प्रश्न हुने गर्छ। जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले अवलम्बन गर्ने स्पष्ट तीन नीतिमध्ये एक हो– पैसा नछुने।
त्यसैको आधारमा यो प्रश्न निर्माण गरिएको हुनुपर्छ। तर हिजोआज यो प्रश्न र यसको आधारमा निकै परिवर्तन भइसकेको छ। पछिल्लो समय राउटे समुदायका लागि पैसा अनिवार्य जस्तै बनेको छ। झन् राउटे मुखिया त हरेक वर्षजसो भत्ता पैसा बढाउन माग गर्दै राजधानी काठमाडौंसम्म पुग्छन्। राउटेहरूको बदलिँदो जीवनशैलीबारे मलाई रिपोर्टिङ गर्नुथियो। त्यही सोच लिएर म केही पत्रकार साथीहरूसहित गत साता राउटेको बस्ती खोज्दै दैलेखको गुराँसे डाँडातिर गएको थिएँ। गुराँसे जंगलको करिब मध्यमा सडक छेउमै राउटेको बस्ती देखियो।
हामी गाडी रोकेर राउटे बस्तीतिर नियाल्दै थियौं। परबाट राउटे समुदायका केही बालबालिका हाम्रो गाडी नजिकै आए। उनीहरूसँगै उनीहरूका अभिभावक पनि गाडीनेरै झुम्मिए। त्यही भिडमा रहेका एकजना राउटे युवा हात जोड्दै ‘दाइ पैसा दिनु न,’ भन्न थाले। अर्कोले सुर्ती मागे। राउटे समुदायको बस्तीमा पहिलोपटक पुगेको मैले समाचारका लागि केही कुरा गर्न खोजें। तर उनीहरू पैसा नदिँदासम्म बोल्न मानेनन्। पैसा दिए बोल्ने नत्र नबोल्ने भन्दै हात पसारिरहे।
विशेषगरी दारको काठबाट निर्मित ठेकी, आरी आदि सामग्री खाद्यान्नसँग साट्ने र त्यसैबाट जीविकोपार्जन गर्ने राउटे समुदायका उक्त सामग्री बिक्री हुन थालेपछि उनीहरूमा पैसाप्रतिको आशक्ति बिस्तारै बढेको हो। अहिले त उनीहरूका लागि पैसा अनिवार्यजस्तै बनेको छ। तर पैसा कमाउने अनेकन उपाय हुँदाहुँदै उनीहरू मगन्ते शैलीमा प्रस्तुत हुँदा पछिल्लो पुस्तामा काम गर्ने हौसला हराउने र उनीहरूमा माग्ने बानी विकसित हुने सम्भावना बढ्दो छ।
नागरिक दैनिकबाट