काठमाडौँ, २१ पुस । सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उहाँको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उहाँको बसाइ भोटेबहालको लजमै हो । डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ तर लजमा सुत्दा प्रतिरात १५० रुपियाँ तिरे पुग्छ । खाना पनि लजमै सस्तोमा पाइन्छ । नुहाउन पानी पाइन्छ । शौचालय व्यवस्थित मिल्छ ।
डेरा कोठामा जस्तो पानी नपाइने, अप्ठ्यारो शौचालय र खाना पकाउने टन्टा भएन । “यति सुविधा हुँदाहुँदै टन्टा कसले बोकोस् ”, श्रेष्ठको भनाइ छ । त्यसो त काठमाडौँका भोटेबहाल, गणबहाल र सहरका यत्रतत्र लजमा एउटै कोठामा छ बेडको व्यवस्था हुन्छ । छ बेडमा १२ जना मिलेर सुत्ने र आधाआधा पैसा उठाएर लजलाई तिर्ने, निरन्तर लजमा सुत्नेलाई त लज सञ्चालकले छुट दिँदा झनै फाइदा हुने श्रेष्ठको अनुभव छ । त्यसो त २०७२ सालको भूकम्पयता डेराकोठा लिन मिल्ने सस्ता खालका कोठा नै छैनन् । सहरभित्रका कतिपय डेरा बस्ने घरमा भएका कोठा डरलाग्दा छन् । कतै भित्ता चर्किएका छन् भने कतै भुइँ धसिएका छन् । परिवार भएकाहरू यस्तैमा सुत्छन् भने परिवार नभएकाको रोजाइ लज हो । काठमाडौँको मध्य सहरमा फुटपाथमा व्यवसाय गर्नेहरू हुन् वा भरिया, प्रायःको रोजाइ यस्ता लज नै हुन थालेको छ ।
दोलखा नाम्दुबाट भारी बोक्न आउनुभएका सिद्धिचरण चोक न्युरोडका भरिया प्रकाश कार्कीका अनुसार लजका कोठामा मात्र होइन, छतमा सतरन्जा ओछ्याएर लहरै सुत्ने पनि निकै छन् । घरका छत रात परेपछि यस्तै विश्रामकर्ताले ओगट्छ र बिहान हुनासाथै छत खाली हुन्छ । छतमा एक रात सुतेपछि सुत्नेले रातमा पचास रुपियाँ तिरे पुग्छ । यसरी सुत्नेहरू होटलमा खाने र सहरका सार्वजनिक शौचालयको उपयोग गर्ने गर्छन् । ओमबहालका एक घरधनीले खाली छतमा पैसा आउँछ भने किन नसुताउने भन्ने भएर आश्रयका लागि खुला छत भाडामा लगाएको बताए । छत भए पनि त्यसमा छानो हुन्छ, कोठा बारिएको वा झ्याल भने हुँदैन ।
जाडोमा एकआपसमा टाँसिएर सुत्छन्, गर्मीमा खुकुलोसँग सुत्छन् । लजमा आउनेलाई शौचालयको टन्टा नहुने, नुहाउन धुवाउन पानी पाइने तथा खान पकाउन नपर्ने भएकाले डेराभन्दा लजमा रात बिताउन मन पराउने गरेको लज सञ्चालकको भनाइ छ ।
गोरखापत्र दैनिकबाट