काठमाडौ,पुस २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ बनाउने अवधारणाअनुरुप धमाधम विमानस्थलको साजसज्जा र स्वरूप परिवर्तन गर्ने कार्य भइरहेको छ। सोहीअन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थलमा शाक्यमुनि भगवान् गौतमबुद्धको प्रतिमा स्थापना गरिएको छ। विमानस्थलको आवागमन कक्षसँगै निर्माण गरिएको बुद्धको प्रतिमाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अनावरण गरे।
‘वेलकम टू द ल्यान्ड अफ लर्ड बुद्ध’ लेखिएको बुद्धको प्रतिमा सजाइएको छ। बुद्धको प्रतिमा स्थापित भएसँगै अब विदेशी पर्यटकले जहाजबाट ओर्लने बित्तिकै बुद्धको देश नेपालमा आएको अनुभव गर्नेछन्।
करिब एक टन वजनको बुद्धको प्रतिमाको लागत ७० लाख रहेको विमानस्थ कार्यालयले जनाएको छ। यसमा झण्डै २४ लाखको सुनको जलप लगाइएको छ। उक्त बुद्धको प्रतिमा पाटनका कालिगड अमिर शाक्यले बनाएका हुन्। बुद्धको प्रतिमामा अब कुनै पनि पर्यटकले बुद्धसँगै बसेर फोटो खिच्न सक्नेछन् सहज रूपमा अवलोकन गर्न पाउनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। सन् २०२० को भ्रमण वर्षकै सिलसिलामा यो काम अघि बढाउने सरकारको योजना थियो। अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्ने विभिन्न आइटममध्ये बुद्धको प्रतिमा एक महत्वपूर्ण पाटो हो।