सभामुख र उपसभामुखमा दाबी गर्ने हाम्रो सामथ्र्य छैन
‘प्रदेश नम्बर २ को सरकार परिवर्तन हुँदैन, यो हल्ला अनुमान हो ‘
काठमाडौं, २१ पुष। राजपा नेपालका नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरुको कुनै दाबी नरहेको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सभामुख वा उपसभामुखमा हाम्रो पार्टीको दाबी छैन् । किनकी हाम्रो सामथ्र्य छैन् । यदि बहुमत हुनेले हामीलाई सभामुख वा उपसभामुख दिन तयार भए हामी पनि लिन तयार छौं । तर बहुमत हुनेले समर्थन वा प्रस्ताव नगरे हामी दाबी गर्दैनौं ।’
प्रदेश नम्बर २ को सरकार परिवर्तनबारे अनुमानको भरमा हल्ला चलाईएको भन्दै कर्णले गुनासो पोखे । उनले भने,‘नेकपा र राजपाबीच दुई बुँदे सहमति भएपछि २ नम्बर प्रदेशको सरकार परिवर्तनबारे अनुमानका आधारमा धेरै समाचार आए । तर, नेकपा र राजपाबीचको दुई बुँदे समझदारीमा यस सम्बन्धमा केही कुरापनि उल्लेख छैन् । यो सहमतिमा हामीले राष्ट्रियसभाको लागि हुने निर्वाचनको लागि २ सिटमा तालमेल गरेका हौं । सिट बाँडफाँडमात्रै हो ।’
प्रदेश नम्बर २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा आफू मुख्यमन्त्री बन्न तयार रहेको भनेर बोलेको कुरामा टिप्पणी गर्दै कर्णले भने,‘ऋषिजीले जितेन्द्र सोनलले मसँगको अन्तर्वार्तामा मुख्यमन्त्री बन्छु भन्नुभयो भन्ने कुरा आयो, म त भन्छु प्रदेश सभा सदस्य सबै मुख्इमन्त्रीको लागि योग्य हुनुहुन्छ । उहाँको अपेक्षा गलत होईन् ।’
उनले प्रदेश नम्बर २ मा सरकार फेरबदल नहुने जिकिर गरे । उनले भने,‘राष्ट्रियसभा सदस्यको लागि माघ ९ गते निर्वाचन हुँदैछ । चुनाव सकिएलगत्तै थप सहकार्यको बारेमा छलफल हुन्छ । नेकपा विदेशी पार्टी होईन । यो पनि यही देशको पार्टी हो । हामी अहिलेपनि साथमै छौं । हामीबीच सहकार्य बढ्दै जान्छ ।’