Logo

ओली-दाहालबीच नयाँ सहमति : नेम्वाङलाई सभामुख र नारायणकाजीलाई अर्थमन्त्री बनाउने



काठमाडौं, २१ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख कसलाई बनाउने भन्नेबारे नयाँ सहमति भएको छ । उनीहरुबीच पछिल्लो समय भएको नयाँ सहमतिअनुसार सभामुखमा पूर्व नेकपा एमालेबाट अहिलेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई ल्याउने मोटामोटी सहमति भएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कुनैपनि हालतमा नेम्वाङलाई सभामुख बनाउने अडान लिएपछि अर्का अध्यक्ष दाहालले त्यसमा सहमति जनाएका छन् । हुन त यसअघि दाहालले सभामुखमा पूर्व माओवादी केन्द्रबाट बनाईनुपर्ने अडान राख्दै आएका थिए । तर, ओलीले कु्नैपनि हालतमा नेम्वाङलाई बनाईछाड्ने अडान लिएपछि दाहाल सम्झौता गर्न बाध्य भएका छन् ।

तर, उनीहरुबीच भएको नयाँ सहमतिअनुसार नारायणकाजी श्रेष्ठलाई भने उपप्रधान एवम् अर्थमन्त्रीमा ल्याउने तयारी छ । श्रेष्ठले हिजोमात्रै राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै, ओलीले बरु राष्ट्रिय सभाको अध्यक्षपनि पूर्व माओवादी केन्द्रलाई नै दिने तयारी गरेका छन् ।

प्रतिनिधिसभाको बैठक यही पुष २७ गते बस्दैछ । त्योभन्दा अघि सभामुखको नाम टुँगो लगाउनुपर्नेछ । अहिलेसम्म बैठक सर्नुमा नेकपाभित्र सभामुखको उम्मेद्वार चयन गर्न कठिन हुनु नै प्रधान कारण मानिएको छ । नेकपाले सभामुखमा दाबी गर्नेछ । त्यसो हुँदा अहिलेकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ । संविधानतः सभामुख र उपसभामुख फरक दल र फरक लिङको हुनुपर्ने व्यवस्था छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot