काठमाडौँ, २२ पुस । ‘विषादी विष हो, औषधि होइन’ सरकारले यो नारा दिएर विषादी प्रयोगमा सचेतना अपनाउन वर्षौंदेखि अभियान चलाउँदै आएको छ तर विषादी प्रयोग तथा आयातमा कमी हुनुको सट्टा बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सन् २०१३ देखि विषादीमुक्त सप्ताह अभियानकै रूपमा मनाउँदै आएको छ । अभियान चलाए पनि यसको आयात तथा प्रयोगमा कुनै सुधार नआएको केन्द्रका निमित्त प्रमुख सहदेव हुमागाईंले पनि पुष्टि गरे । केन्द्रले पुस २२ गतेदेखि साताव्यापी कार्यक्रमको आयोजना गर्न लागेको छ । कार्यक्रम आयोजना गर्नुको पूर्वसन्ध्यामा केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत तथ्याङ्कले नेपालमा विषादी प्रयोगको अवस्था विकाराल रहेको देखाएको छ । नेपालमा छ वर्षमा मात्र तीन अर्ब २१ करोड ७१ लाख ८८ हजार ४७ रुपियाँ ।०५ पैसाको विषादी आयात भएको छ । गत वर्षको तथ्याङ्क हेर्दा नेपालमा ६३२।४१ टन खास आयात भएको देखिन्छ । जसमा कीटनाशक २१६ टन, रोगनाशक २६८ टन, झारनाशक १४२ टन र अन्य विषादी पाँच टन आयात भएको देखिन्छ । त्यसका लागि करिब ८४ करोड रुपियाँ गत वर्ष खर्च भएको देखिन्छ ।
२०६९÷७० मा चार लाख १० हजार ३२७ केजी खास विष आयात भएको थियो । २०७०, ७१ मा त्यो बढेर चार लाख ५४ हजार ५९५ केजीमा पुग्यो । २०७१÷७२ मा त पाँच लाख ४९ हजार ९६५ केजी पुग्यो । यसरी वर्षौं बढ्दै गएपछि २०७४÷७५ सम्म आइपुग्दा छ लाख ३२ हजार ४१९ केजी पुग्यो । अर्थात् सरकारले यसको नियन्त्रण गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दछ तर त्यो नियन्त्रणको सट्टा बढ्दै गरेको तथ्याङ्कले देखाएको छ । नेपालमा खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर रहेको छ ।
केन्द्रका प्रमुख हुमागाईंले अरू देशको तुलनामा नेपालमा विषादीको मात्रा कम छ तर यहाँ प्रयोग गर्ने तरिका नजानेर मात्र भयावह अवस्थामा पुगेको बताए । उत्तर कोरियामा प्रतिहेक्टर १६ केजी, चीनमा १२ केजी र अमेरिकामा १।५ केजी विषादी प्रयोग हुन्छ तर त्यहाँ केही हुँदैन तर नेपालमा प्रतिहेक्टर ३९६ ग्राम मात्र खास विष प्रयोग हुन्छ तर अवस्था नराम्रो भएको छ ।
नेपालमा ८५ प्रतिशतभन्दा बढी विषादी तरकारी बालीमा मात्र प्रयोग हुन्छ । १५ प्रतिशत धान, गहुँ, कोदो, मकै, फापर, गहुँलगायतका बालीमा प्रयोग हुने गरेको छ । यसबाट पुष्टि हुन्छ कि तरकारीको माध्यमबाट सीधै उपभोक्ताका भान्साघरसम्म विषादी पुग्छ । उनले भने, किसानले तरकारीमा विषादी प्रयोग गर्छ तर प्रयोग गर्ने तरिका नजानेका कारण धेरैले दुःख पाएका छन् । एक अध्ययन अनुसार तरकारीमा १।६ केजी विषादी प्रतिहेक्टरमा प्रयोग भइरहेको छ । यो मात्रा निकै नै बढी हो ।
गोरखापत्र दैनिकबाट