Logo

प्रहरीलाई जानकारी अनिवार्य



काठमाडौं,पुस २२ । काठमाडौं उपत्यकालगायत देशका मुख्यमुख्य सहरमा घर भाडामा लिएर बस्ने विदेशी नागरिकबारेको विवरण नजिकको प्रहरी कार्यालयमा पेस गर्नुपर्ने भएको छ। चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थ भण्डारण र प्रयोग गरी विध्वंसात्मक एवं अराजक गतिविधिका घटनामा विदेशी नागरिक संलग्न हुने गरेको ठहरसहित गृह मन्त्रालयले यस्तो व्यवस्था गर्न लागेको हो।

एक साताअघि मन्त्रालयमा आयोजित सुरक्षा निकायको बैठकमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले विदेशी नागरिकलाई घर भाडामा दिँदा घरधनी वा भाडावालमध्ये एकले प्रहरीलाई विवरण दिनुपर्ने प्रस्ताव राखेका थिए। सो प्रस्ताव गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखले स्वीकार गरेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

‘अन्य मुलुकमा पनि विदेशी नागरिक भाडामा बस्दा सरकारले सबै विवरण लिने गर्छ। अपराध गरे घरधनी वा भाडावाल तुरुन्तै पक्राउ पर्छन्। भागे पनि उनीहरू कुन देशका र कुन स्थानका नागरिक हुन भन्ने तुरुन्तै पत्ता लाग्छ। त्यसकारण पनि नेपालमा यो नियम लागु गर्नु आवश्यक छ’, अधिकारीले बैठकमा भनेका थिए। पर्यटक भिसामा आएका विदेशी कहाँ बसिरहेका छन् भन्नेबारेमा पनि सुरक्षा निकायले अनुगमन गर्नुपर्ने उनको धारणा थियो। अपराधजन्य क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पार्ने भएकाले विदेशी नागरिकको हकमा यस्तो व्यवस्था गरेको आजको नागरिक दैनिकमा खवर छ ।

पछिल्लो समय नेपाल आएका थुप्रै विदेशी अपराध कर्ममा संलग्न भएको भेटेपछि गृह मन्त्रालयले भाडामा बस्ने विदेशी नागरिकबारेको पूर्ण विवरण प्रहरी कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।
‘व्यक्ति, संस्था र कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण तथा जानकारी नजिकको प्रहरी एकाइमा अनिवार्य उपलब्ध गराउन र स्थानीय प्रहरी एकाइले पनि अनिवार्य रुपमा घरभाडामा बस्ने विदेशी नागरिक र छाड्नेहरूको विवरण नियमित एवं अद्यावधिक राख्ने निर्णय भएको छ’, गृह प्रवक्ता केदारनाथ शर्माले भने। विदेशी नापाल आएर अपराध कर्ममा संलग्न भएको पाइएकाले पनि यस्तो निर्णय गर्नुपरेको उनले बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot