जुम्ला, २२ पुस : कर्णाली आयुर्वेद औषधालयमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । एक महिनादेखि औषधि अभाव भएपछि औषधालयमा आउने बिरामी मर्कामा परेका हुन् ।
स्थानीय जन्मकन्या रावतले औषधि नहुँदा आफू खाली हात फर्कन बाध्य भएको गुनासो गरे । औषधिको अभाव भएपछि औषधालयमा कार्यरत छ कर्मचारीले कार्यालय खोल्ने र हाजिर लगाउने काममात्रै गर्ने गरेका छन् ।
औषधालयकी वैद्य सुमित्रा आचार्यले पनि औषधि नभएकाले आउने बिरामीलाई सेवा गर्न नसकिएको बताए । उनले औषधालयमा औषधि नहुँदा सेवासमेत ठप्प रहेको बताए । औषधालयमा ग्याष्ट्रिक, पायल्स, बाथ रोग, रागन र नसासम्बन्धी रोगको उपचार हुँदै आएको भए पनि औषधि नहुँदा सोही अनुसारको नभएको वैद्य आचार्यले बताए ।
औषधालयमा औषधि नपाउँदा आफू लगायतका सेवाग्राही रित्तै फर्किएको चन्दननाथ नपा–१० का मदनमोहन देवकोटाले गुनासो गरे । चिसो महिना शुरु भएपछि औषधालयमा बिरामीको चाप बढेको भए पनि सेवा नपाउँदा रित्तै फर्किने गरेको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम केसीले गत आर्थिक वर्षदेखि हालसम्म औषधालयका लागि औषधि खरिद हुन नसक्दा समस्या आएको बताए । उनले केही दिनभित्रै औषधि खरिद गरी औषधालयलाई दिने तयारी भइरहेको जानकारी दिए । जुम्लासहित मुगु, कालीकोट, डोल्पा जिल्लाबाट दैनिक ५० बिरामीले औषधालयबाट सेवा लिँदै आएका औषधालयले जनाएको छ ।रासस