जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागार कार्यालयमा अहेबको दरबन्दी भए पनि अहिले रिक्त भएकाले उपचारमा समस्या भएको हो ।
कारागारमा कार्यरत अहेब शुक्रराज शाही तीन महिनाअघि हिमा गाउँपालिकामा सरुवा भई गएपछि पदपूर्ति नहुँदा कारागारमा कैदीबन्दीको नियमित स्वास्थ्य उपचार तथा परीक्षणमा समस्या भएको कारागार प्रमुख गयाप्रसाद पाण्डेले बताए । “स्वास्थकर्मी नभएको समयमा कैदीबन्दी बिरामी भएपछि जुनसुकै बेला पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा लिने गरेका छौँ”, उनले भने ।
हिउँदको समयमा चिसोले रुघाखोकीको समस्या, हातगोडा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या कैदीबन्दीमा देखिने गरेका जानकारी दिँदै उनले भने, “नयाँ स्वास्थ्यकर्मी नआउँदा उपचारमा समस्या भएको छ, स्वास्थ्यकर्मी पदपूर्तिका लागि कारागार विभागमा माग गरेका छौँ तर अहिलेसम्म आउनुभएको छैन, कैदीबन्दीलाई अस्पताल लाँदा ल्याउँदा खर्च बढेको छ ।”
नियमित पानी र बत्तीको समेत समस्या
कारागारमा नियमित पानी र बिजुली नआउँदा समस्या हुने गरेको कैदी खाम्मा रावतले गुनासो गर्नुभयो । धारा एउटै भएपछि पानीका लागि कैदीबन्दीको लाइन लाग्ने गरेको र कहिले सोही कारण झगडासमेत हुने गरेको उनले बताए । कारागारको क्षमता ८० महिला र १२० पुरुष गरी २०० रहेको कारागारमा अहिले दुई महिलासहित ६६ कैदी र २३ थुनुवा रहेकामा विद्युत्भार कटौती बढी हुने भएकाले नियमित बिजुली नहुँदा प्रशासनमा सुरक्षा चुनौती पनि बढेको कारागार प्रमुख पाण्डेको भनाइ छ ।
यस विषयमा खलङ्गा साना जलविद्युत् उपभोक्ता समितिलाई माग गरेको भए पनि सुनुवाइ नभएको कारागार उनले बताए । खलङ्गा साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले कारागारबाट नियमित बिजुली उपलब्ध गराउने कुरा आएको भए पनि बिजुलीको क्षमता कम र खपत बढी भएकाले उपलब्ध गराउन नसकिएको बताए ।