Logo

अर्काको एजेन्डा र रणनीतिमा चल्दा इतिहासकै कमजोर काँग्रेस



दीपेश केसी: यसवर्ष वीपीको मेलमिलाप दिवसकै सन्दर्भमा नेपाली काँग्रेसले ठूलो विवाद झेल्यो । सभापति शेरबहादुर देउवाले नयाँ विभागहरुको गठन र विस्तार गर्ने निर्णयको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले बैठक बहिष्कार ग¥यो । विवाद मिलाउन नेताहरु लागेपनि सफल नभएपछि देउवाले महाधिवेशनको मिति घोषणा गरे । त्यसप्रति पौडेल पक्षले आशंका व्यक्त गर्दै महाधिवेशन २०७७ सालभित्र पनि नगर्ने मनशाय देउवामा देखिएको भन्दै असन्तुष्टि व्यक्त ग¥यो ।

काँग्रेसभित्रको पछिल्लो घटनाक्रमलाई आगामी सभापतिका लागि नेताहरुको पूर्व तयारीका रुपमा लिइएको छ । अघिल्लो महाधिवेशनमा कृष्णप्रसाद सिटौलाले आफै उम्मेदवारी दिएपछि देउवाको जीतको ढोका खुलेको थियो । कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा देउवा र पौडेलबीचको चुनावी भिडन्तले मात्र सभापति चयन गर्न सकेको थियो । देउवाका लागि सिटौलाको कदम सहयोगी बन्यो । अहिले सिटौला देउवाविरुद्ध आक्रामक बन्दै गएका छन् । उनले देउवाविरुद्ध पार्टीलाई जमिन्दारी शैलीमा चलाउन खोजेको आरोप लगाएका छन् । घटनाक्रमले पौडेल, सिटौला, कोइराला परिवार र प्रकाशमान सिंह एक ठाउँमा उभिने अवस्था बन्दै गएको छ । यस अवस्थामा देउवाका लागि पुनः सभापति पद जोगाउन फलामको च्युरा सावित हुनेछ ।

काँग्रेसभित्र नयाँ विभाग गठन, महाधिवेशनको मिति तय देखि यसको विरोधसम्मका क्रिया प्रतिक्रिया अबको महाधिवेशनको पूर्वाभ्यासका रुपमा लिइएको छ । विधान अनुसार आउँदो वर्षको अन्तसम्म काँग्रेसको महाधिवेशन गर्नुपर्ने वाध्यात्मक अवस्था छ । यसकारण सभापति देउवा सबैभन्दा दबाबमा परेका छन् । उनका सामु सभापति देखि केन्द्रीय सदस्य चयनका लागि निर्णायक हुनसक्ने महाधिवेशन प्रतिनिधिमा बढीभन्दा बढी आफू पक्षधरलाई जिताउने चुनौती छ । त्यसका लागि पनि क्रियाशिल सदस्यता वितरणले आधार तयार गर्छ । देउवाले विजयकुमार गच्छेदारलाई पार्टीभित्र भित्र्याएर उपसभापति दिए आगामी महाधिवेशनका लागि सजिलो बन्ने रणनीति बनाएका छन् । तर, त्यसले मात्र आफ्नो जीत सुनिश्चित नहुने देखेर पौडेल र सिटौला पक्षधरलाई आफ्नो पक्षमा कसरी पार्न सकिन्छ भनेर सक्रिय भइसकेका छन् । देउवाको यसै रणनीति अनुसार विगतमा उनको पक्षमा लागेर सुशील कोइराला सभापतिको चुनाव लड्दा समूह छाडेर गएका डा. नारायण खड्कालगायतलाई आफ्नो पक्षमा ल्याइसकेका छन् । सभापति बन्न देउवाले आफ्ना निकटस्थलाई अंकगणित मिलाउन अहिले देखि नै सक्रिय बनाइसकेका छन् । त्यसै अनुसार पार्टीको तल्लो देखि माथिल्लो निकायसम्म पौडेल पक्षधरलाई आफ्नो पक्षमा ल्याउने कसरत देउवाले भित्रीरुपमा गरिसकेका छन् ।

देउवाका चुनौती

काँग्रेस सभापति शेरबहादुर देउवाका लागि आगामी महाधिवेशनमा पुनः सभापति बन्न सजिलो छैन । गएको संसदीय चुनावमा उनकै नेतृत्वमा काँग्रेस चुनावमा जाँदा हार व्यहोर्नुपरेको थियो । काँग्रेसले चुनाव लडेको अहिलेसम्मकै कमजोर प्रदर्शन हुनपुग्यो । स्थानीय चुनावमा तत्कालिन माओवादी केन्द्रसँगको चुनावी गठबन्धनका क्रममा देउवा निकै आलोचित भए । भरतपुर महानगरपालिकामा रेणु दाहालका लागि काँग्रेस उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न लगाए । दाहालकै पक्षमा चुनावी प्रचार गर्न भरतपुर पुगे । काँग्रेसका बहालवाला सभापति कुनै विपक्षी उम्मेदवारको पक्षमा चुनाव प्रचार गर्न पुगेको यो पहिलो घटना थियो । यसले देउवा निकै आलोचित भए । गएको चुनावमा हारको जिम्मेवार नलिएको भन्दै देउवाको पार्टीभित्र अझै विरोध हुनेगरेको छ । सभापति भएपछि देउवाको भूमिका आलोचित र विवादास्पद रहेबाट उनका विरोधीले यसलाई अस्त्रका रुपमा प्रयोग गर्न सक्छन् ।

देउवामाथि काँग्रेसलाई सशक्त प्रमुख प्रतिपक्षीको भूमिकामा उभ्याउन नसकेको आरोप छ । बालुवाटार जग्गा काण्ड, वाइडबडी, नेपाल ट्रष्टको जग्गा लिजमा दिने प्रकरण, एनसेल कर छली प्रकरणलगायतमा काँग्रेस सशक्त रुपमा प्रस्तुत भएन । उल्टै देउवामाथि नै यी प्रकरणमा मुछिएको आरोप लाग्यो । सरकारका कतिपय विवादास्पद कामको काँग्रेसले सशक्त विरोध नगर्नुले आशंकाहरु पैदा भए । काँग्रेसभित्रको देउवाविरोधी पक्षधरले उनको यी भूमिकालाई अस्त्र बनाउनसक्ने देखिदैछ ।

काँग्रेसका सभापतिका दाबेदारका लागि राजनीतिक एजेन्डाको खडेरी परेको छ । देउवाका लागि यो झन् ठूलो समस्या बनेको छ । २००७ सालको क्रान्ति, पञ्चायतविरोधी आन्दोलनमा काँग्रेसकै राजनीतिक एजेन्डा मुख्य थियो । तर, २०६२/६३ को जनआन्दोलनमा पनि काँग्रेस नै नेतृत्वकर्ता देखियो । त्यसपछि काँग्रेसको एजेन्डा निर्णायक बन्न सकेको छैन । प्रचण्डको राजनीतिक एजेन्डामा देशको राजनीति घुमिरहँदा कतिपय अवस्थामा उनकै रणनीतिमा काँग्रेसका नेतृत्वकर्ताहरु पनि घुमेको कटु सत्य हो । लामो इतिहास बोकेको काँग्रेस पार्टीका लागि परिवर्तनलाई छाडेर पछाडि फर्कन जति चुनौती छ अगाडि बढ्न पनि उत्तिनै चुनौती बढेको छ । काँग्रेसभित्र राजसंस्था र हिन्दु राष्ट्रबारे पुनर्विचार गर्नुपर्ने एजेन्डा दरिलो रुपमा आइरहेको छ । गणतन्त्र कायमै राखेर धर्मनिरपेक्ष हटाएर बीचको बाटो अपनाउनुपर्ने राजनीतिक एजेन्डा पनि एउटा पंक्तिले उठाइरहेको छ । काँग्रेसको भावी सभापतिका लागि मत पाउन उल्लेखित मुद्दालाई बेवास्ता गरेर जान नसक्ने अवस्था बनिसकेको छ ।

सभापतिका दाबेदारमध्ये वर्तमान सभापति शेरबहादुर देउवा हिन्दु राष्ट्रबारे मौन छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल यसको विपक्षमा छन् । तर, पौडेल पक्षकै महामन्त्री डा. सशांक कोइराला र डा. शेखर कोइराला यसबारे पुर्नविचारको पक्षमा छन् । सशांक कोइराला हिन्दु राष्ट्रको पक्षमा उभिदै आएका छन् । काँग्रेसभित्र वर्तमान महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको झण्डै हजारको संख्या हिन्दु राष्ट्रको पक्षमा देखिएको खुलेकै हो । यसकारण पनि यो एजेन्डाको सम्बोधन या बेवास्ताले भावी सभापतिको निर्वाचनमा असर पर्नसक्ने देखिदैछ । सभापतिमा पुनः निर्वाचित हुन देउवाले यो एजेन्डाको कसरी व्यवस्थापन गर्छन् प्रतिक्षाको विषय छ । उनी निकटस्थ उपसभापति विमलेन्द्र निधि धर्मनिरपेक्षको पक्षमा छन्, विजयकुमार गच्छेदार मौन छन् । महामन्त्री पूर्णबहादुर खड्का मौन देखिन्छन् । देउवाका लागि भावी सभापतिका दाबेदार मानिएका डा. सशांक कोइरालाले हिन्दु राष्ट्रको एजेन्डासहित प्रस्तुत भएर अगाडि बढेमा ठूलो चुनौती बन्न सक्छ ।

देउवाविरोधी एकता

सभापति शेरबहादुर देउवाको विरोधमा उभिएका वरिष्ठ नेता रामचन्द्र पौडेल, कोइराला परिवारका सदस्यहरु महामन्त्री सशांक कोइराला, डा. शेखर कोइराला, सुजाता कोइराला, प्रभावशाली नेताहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला एक भएमा ठूलो चुनौती बन्न सक्छ । उल्लेखित नेताहरु एक हुनु भनेको देउवाले सभापतिमा पुनः निर्वाचित हुननसक्नु हो भन्ने विश्लेषणहरु काँग्रेसभित्र भइरहेका छन् । विगतको चुनावी नतिजालाई केलाउँदा पनि देउवाविरोधी एक भएमा उनीहरुकै मत बढी हुन्छ । त्यसैले पनि देउवाले आफू विरोधीलाई एक बन्न नदिने रणनीति बनाउन सक्छन् । त्यसैका लागि उनले पौडेल पक्षमा गएका कतिपय नेताहरुलाई आफ्नो पक्षमा ल्याउन अभ्यास थालिसकेका छन् । तर, पौडेल पक्ष एक भएर देउवाविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेको छ । यो अवस्था आगामी महाधिवेशनसम्म कायम रहेमा देउवाका लागि आउँदा समय कठिन हुनसक्छ ।

संकटमा कांग्रेस

काँग्रेसभित्र वीपीको सिद्धान्त र नीति लत्याइएको विषय उठ्दै आएको छ । काँग्रेसलाई जीवन दिएका कृष्णप्रसाद भट्टराईको सुझाव सुनिएन । सादगी किशुनजी रुनुप¥यो । काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले पार्टी त्यागे । किशुनजी र गणेशमान सिंह अपहेलित हुनुमा गिरिजाप्रसाद कोइराला कारक रहेको आरोप लाग्यो । अहिले गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला काँग्रेुलाई मत दिन आफ्नै हात काँप्ने बताउन थालेकी छिन् । यसले काँग्रेस भताभुंग र अलोकप्रीय रहेको यथार्थ बुझ्न सकिन्छ ।

काँग्रेस नेतृत्व हात पार्न नेताहरुको अहिलेसम्मको रणनीति र सक्रियता व्यक्तिवादी बन्दै जानुले काँग्रेसमा नयाँ ऊर्जा थपिइरहेको छैन । बरु निरन्तर क्षय भइरहेको छ । सुजाता कोइरालाले त पार्टी नै समाप्त हुने खतरा औल्याएकी छिन् । समाजवादी विचारलाई नेपालको परिप्रेक्ष्यमा प्रस्तुत गरेर लागू गर्न खोज्ने वीपी कोइराला जस्ता विलक्षण प्रतिभाबाट स्थापित हुँदै कृष्णप्रसाद कोइराला जस्ता सादगी, गणेशमान सिंह जस्ता लौह पुरुष र गिरिजाप्रसाद कोइराला जस्ता चतुर राजनीतिक खेलाडीबाट हुर्के बढेको काँग्रेस सुशील कोइरालाको सादगीपनसम्म सशक्त नै थियो । अहिले काँग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको छ । गुट र उपगुटको विवादले सशक्त राजनीतिक एजेन्डाहरु सुन्यप्रायः छन् । कांग्रेस विचारमुखी भन्दा नेतामुखी बनेको छ । यसले उसको भविष्यमाथि नै संकटको कालो बादल मडारिएको छ ।



प्रतिक्रिया दिनुहोस्