Logo

कांग्रेस विवाद खिचडीजस्तो : देउवा–पौडेलबीच मिलनबिन्दु भेटिएन



पुष २२, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्दै पौडेलबीच गुटगत शक्ति प्रदर्शन नै चलेको छ । देउवा पक्षधर केन्द्रिय समितिको बहुमतले गरेका निर्णयहरु फिर्ता लिन पौडेले पक्षले माग गरेको छ । तर देउवा पक्ष निर्णय फिर्ता गर्न तयार देखिदैन ।

पुष ११ गते पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बहिस्कारकाबीच केन्द्रिय समिति बैठकले बहुमतको आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने लगायत केही महत्वपुर्ण निर्णय ग¥यो । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमतीको राजनीतिलाई वेवास्ता गर्दै बहुमतको आधारमा पार्टीलाई गलत बाटोमा लगेको पौडेल पक्षको आरोप छ ।

पौडेललाई तेस्रो धारको नेतृत्व गरिरहेका कृष्ण प्रसाद सिटौलाले पनि साथ दिइरहेका छन् । यतिबेला पौडेल पक्षले आफू निकट जिल्ला सभापतिहरुलाई काठमाण्डौ बोलाएर कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श लिइरहेको छ । पुष ११ गतेको बैठकको निर्णय सच्याउनु पर्ने माग पौडेल पक्षधर जिल्ला सभापतिहरुले गरेका छन् । पार्टीलाई विधानअनुसार चलाउन नेतृत्वलाई दवाव दिन खोजेको नेता नविन्द्रराज जोशी बताउँछन् ।

सहमतीको प्रयास असफल भएपछि बाध्य भएर विधानअनुसार नै बहुमतबाट निर्णय गर्नुपरेको सभापति देउवापक्षका नेता तथा सहमहामन्त्री डा. प्रकाशसरण महतको तर्क छ । मंगलबार पार्टी कार्यालय सानेपामा पौडेल पक्षधर जिल्ला सभापतिहरुको भेला चलीरहँदा सहमहामन्त्री महतले सहमतिको प्रयास गरेका थिए । तर सफल भएन ।

गत मंसिर २६ गतेबाट सुरु भएको पार्टीको बैठक पौडेल पक्षधरका नेताहरु पटक–पटक बहिष्कार गर्दै आएपछि सभापति देउवा स्वायम पौडेल निवासमा पुगेर सहमतीको प्रयास पनि गरेका थिए । दुवै पक्षबाट वार्ता टोली समेत बनाइएको थियो । तर सहमतिको मिलनविन्दु भेटिएन । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने आन्तरिक विवाद छिटै समाधान हुने बताउँछन् ।

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद नियमित जस्तै हो । तर यतिबेला भने विगतको भन्दा ठूलै विवाद देखिएको छ । भागबण्डा र गुटगट राजनीतिलाई प्रश्रय दिएको कांग्रेस समस्याबाट गुज्रिरहँदा प्रतिपक्षको भूमिका पनि फितलो भएको छ ।

पौडेल पक्षधर जिल्ला सभापतिहरुको भेला भोलि पनि जारी रहने छ ।



प्रतिक्रिया दिनुहोस्