Logo

आयातमा कडाइ



काठमाडौं, २३ पुस । सरकारले वस्तु तथा सेवा आयातमा कडाइ गरेको छ। व्यावसायिक रूपमा सामान आयात गर्दा एउटा कन्साइनमेन्ट चलानीबाट एकपटकमा एकथरी सामान मात्रै ल्याउन पाइनेछ। एउटा चलानीबाट धेरै किसिमका सामान आयात गर्दा व्यापारमा विचलन बढेको निष्कर्षअनुसार सरकारले यस्तो व्यवस्था लागू गरेको हो।

सरकारले राजपत्रमा प्रकाशन गरेपछि यो व्यवस्था कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले जनाएको छ। एउटै कन्साइनमेन्टमा धेरै वस्तु ल्याउँदा आयातित वस्तुको यथार्थ मूल्यांकनमा समस्या हुने गरेको भन्सार विभागका अधिकारी बताउँछन्। अघिल्लो साता राजस्व सचिव शिशिर ढुंगानाको संयोजकत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालसहितको बैठकले गठन गरेको कार्यदलले एउटा कन्साइनमेन्टबाट एकपटकमा एकथरी सामान मात्रै ल्याउन सुझावसहितको प्रतिवेदन दिएको थियो।

खासगरी खाद्य सामग्री र लत्ताकपडामा यस्तो समस्या देखिने गरेको छ। एउटा कन्साइन्मेन्टमा धेरै थरी वस्तु ल्याउँदा परिमाण मापन गरी वस्तुको मूल्यांकनमा समस्या हुने गरेको छ। कात्तिक १९ मा राजस्व अनुसन्धान विभागले थानकोटमा रेफ्रिजरेटेड दुईवटा ट्रकमा छड्के जाँच ग¥यो। ट्रकमा आलु चिप्स, हरियो केराउ, बिफसमेत फेला परेको थियो। आलु चिप्स र हरियो केराउको भन्सार फरकफरक छ। यसरी धेरै वस्तु एउटै कन्साइनमेन्टमार्फत ल्याउँदा अवैध सामानसमेत लुकाएर ल्याउने गरेको पाइएको छ। एउटा कन्साइनमेन्टमा एकथरीमात्र सामग्री ल्याउने व्यवस्था भए जाँच र भन्सार मूल्यांकनमा सजिलो हुने राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली बताउँछन्। ‘एउटै कन्साइनमेन्टमा एउटै किसिमका सामान आयात गर्नुपर्ने व्यवस्थाले राजस्व चुहावट नियन्त्रण गर्न सकिन्छ,’ मैनाली भन्छन्, ‘एउटैमा ५० थरी वस्तु ल्याउँदा भन्सार जाँचपासमा ढिलाइ र राजस्व छली हुने सम्भावना हुन्छ।’

मुलुकको ‘इज फर डुइङ बिजनेस’ मा सुधार हुन मैनालीको भनाइ छ। एउटै कन्साइनमेन्टमा धेरै थरी सामान ल्याउँदा जाँच र क्वारेन्टाइन छिटो हुने भएकाले वैदेशिक व्यापार प्रक्रिया चुस्त हुने देखिएको छ। ससाना परिमाणका विभिन्न किसिमका वस्तु आयात हुँदा व्यापारको लागतसमेत बढ्ने गरेको छ। जसले उपभोक्ता मूल्यमा पनि वृद्धि हुन्छ। यसरी सामान आउँदा भन्सारमा जाँचपास र क्वारेन्टाइनमा समेत अप्ठेरो बनाइरहेको छ। हाल एउटै कन्साइनमेन्टमा तयारी पोसाक, खेलौना, खानेकुरा, स्टेसनरी, जुत्ताचप्पल, कस्मेटिक, इलेक्ट्रोनिक्स, केमिकलसम्म आयात हुने गरेको भन्सारको तथ्यांकले देखाउँछ। अहिले खाद्य तथा अखाद्य वस्तु पनि एउटै कनसाइनमेन्टमा आउने गरेको छ। जसले खाद्य वस्तुको गुणस्तरमा समेत प्रभाव पार्न सक्ने खतरा रहन्छ।

चालु आवमा आर्थिक ऐनको भन्सारसम्बन्धी व्यवस्थामा अर्थ मन्त्रालयलाई यो व्यवस्था कार्यान्वयन गर्न सक्ने अधिकार छ। ऐनमा वर्गीकरणमा एउटै प्रकृतिका सामान एकपटकमा एउटा कन्साइनमेन्टबाट मात्र आयात गर्न व्यवस्था तोक्न अर्थ मन्त्रालयलाई अधिकार दिइएको छ। तोकेभन्दा फरक किसिमका सामान आयात भएको पाइएमा त्यस्ता वस्तुमा लाग्ने महसुल र सोको शतप्रतिशत जरिबाना गरेर मात्रै भन्सार अधिकृतले जाँचपास गर्ने व्यवस्था छ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्