Logo

‘दूधकोसी राष्ट्रिय गौरवको आयोजना’



काठमाडौँ, २३ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा बन्न लागेको ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त विद्युत् आयोजनास्थलको मङ्गलबार निरीक्षण गरेको छ ।

निरीक्षणपछि खोटाङको रावाबेँसी गाउँपालिकामा आयोजित कार्यक्रममा मन्त्री पुनले हाल उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर अन्तिम चरणमा रहेको जानकारी दिदै अध्ययन सकिनेबित्तिकै सरकारले दूधकोसीलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने बताए ।  एक अर्ब ५२ करोड अमेरिकी डलर झन्डै एक अर्ब ६० खर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दूधकोसी आयोजनाका लागि एसियाली विकास बैङ्क एडीबीले ६० अर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाइसकेको जानकारी मन्त्री पुनले दिए । सरकार आयोजनाको बाँकी लगानी जुटाउन स्वदेशी र विदेशी कम्पनीसँगको परामर्शमा रहेको उनले उल्लेख गरे ।

तुलनात्मक रूपमा सस्तो आयोजना भएकाले ओखलढुङ्गा र खोटाङका स्थानीय तथा प्रदेश सरकार र प्रभावित क्षेत्रका बासिन्दासमेत इच्छुक भए उनीहरूका लागि लगानीको वातावरण मिलाउन सरकार तयार रहेको स्पष्ट गरे । मन्त्री पुनले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सडकमा ल्याएर काम गर्ने पक्षमा सरकार नरहेको भन्दै प्रभावितलाई उचित मुआब्जा, क्षतिपूर्ति र पुनर्बासको व्यवस्था मिलाइने प्रतिबद्धता जनाए । सरकारले दरधकोसी आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ । अध्ययन सकिएपछि राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिन्छ, मन्त्री पुनले भने, सरकारले जनतालाई घरवारविहीन बनाएर आयोजना बनाउँदैन ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्