Logo

देउवा नौ महिना बैठक बहिष्कार देखि पार्टी फुटाउने परम्पराको थालनीकर्ता- जगदीश्वर नरसिंह केसी



काठमाडौं, २३ पौष । नेपाली काँग्रेसका नेता जगदीश्वर नरसिंह केसी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका हुन् । नेपाली कांग्रेस नुवाकोट सभापति उनी पौडेलले बोलाएको जिल्ला सभापतिहरुको भेलामा सहभागी थिए । यसै विषयमा उनीसँग ऋषि धमलाले गरेको कुराकानीः
तपाईंहरुले पार्टी सभापतिलाई के भन्नुभयो ?
जिल्ला सभापतिहरुको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाउनु भएको हो । त्यसमा ४६ जिल्लाका जिल्ला सभापतिहरुको उपस्थिति थियो । पार्टीको समसायिक विषयमा वरिष्ठ नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले आफ्नो धारणा राख्नुभयो । अहिलेको परिस्थितिको बारेमा जिल्ला सभापतिहरुलाई बताउनुभयो । अहिलेको परिस्थितिमा तपाईंहरुको के सुझाव छ हामीलाई भन्ने उहाँहरुको राय रह्यो ।
रामचन्द्रले के भन्नुभयो भन्दा पनि तपाईंहरुले सभापतिलाई के चेतावनी दिनुभयो ?
सभापतिलाई हामीले चेतावनी भन्दा पनि पार्टीको विधि, परम्परा, नियमावलीलाई मिचेर आफ्नो अनुकूल निलम्बन, फुकुवा र ब्याख्या गर्ने गर्नुभएको यसले पार्टीलाई राम्रो गर्दैन । पार्टीलाई सही ढंगले अगाडि बढाउन विधि, विधान र पद्धतिलाई केन्द्रदेखि तलसम्म अक्षरसः पालना गर्नुपर्छ । अनि मात्रै पार्टी मूल्य, मान्यता र सिद्धान्त निष्ट हुन्छ । महाधिवेशनको कार्यतालिका ल्याउँदा विधान मिचेर एकतर्फी ढंगले ल्याएको छ । त्यसले महाधिवेशनको निष्पक्षतामाथि नै प्रश्न उठेको छ ।
तपाईंहरुले केन्द्रीय सभापतिको बहुमतीय निर्णय मान्दैनौं भन्नुभयो हो ?
सभापतिले बहुमतको नाममा निर्णय गर्दै जानेको हो भने पार्टीभित्र तिक्तता झन् बढ्दै जान्छ । हिजो सुशील कोइराला सभापति भएको बेला ९ महिनासम्म बैठक बहिष्कार गरेर यसको थालनी उहाँले गर्नुभएको हो । सानो विषय पार्टी नै फुटाएर जाने परम्पारको थालनी पनि उहाँले नै गरेको हो । यसरी विधानका धाराहरु निलम्बन गर्दै जाँदा भोलि अरुले पनि त्यसको सिको अरुले पनि गर्छन् भनेर सभापतिले बुझ्नुपर्ने हो ।
सभापति पक्षधरहरुले तपाईंहरुको भेला वैधानिक छैन भनेका छन् नि ?
४७ जिल्लाका पार्टी सभापतिहरुले नेतृत्वलाई सझुाव दिन र सरसल्लाह गर्न आउँदा कसले वैधानिक भन्यो, कसले अवैधानिक भन्यो त्यतातिर हामी लाग्दैनौं ।
पार्टीको विधानमा तपाईंहरुले भेला बोलाउने अधिकारै छैन रे ?
हामीले यसलाई भेला भनेकै छैंनौं । हामीले ब्यानरमै जिल्ला सभापतिहरुको परामर्स बैठक भनेर लेखेका छौं । हामीलाई वरिष्ठ नेता र महामन्त्रीले बोलाउनुभएको हो । महामन्त्री सिंगै सचिवालय हो, पार्टीको । सभापति, महामन्त्री र कोषाध्यक्ष तीनको निर्वाचन भएको हो, १३ औं महाधिवेशनमा । पार्टीको सचिवालय महामन्त्रीबाट सञ्चालन हुन्छ । हामीले सभापति आलोचना भन्दा पनि १४ औं महाधिवेशनलाई प्रभाव पार्ने गरी पार्टीको विधान मिच्ने काम नगरौं भन्न खोजेका हौं ।
कांग्रेस पार्टीमा जस जहाँ पायो त्यही भेला बोलाउन मिल्छ ?
यो त भेला नै होइन नि । यसलाई हामीले परामर्श बैठक भनेका छौं ।
भेला भनेर बाहिर आइरहेको छ नि ?
मिडियाहरुले यसलाई भेला भन्दिनुभएको छ । हामीले परामर्श बैठक भनिरहेका छौं । परामर्श बैठकमा छलफल हुन्छ । त्यसले पार्टी यो गतिमा जानुपर्छ भनेर एउटा निचोड निस्किन्छ । १४ औं महाधिवेशन गर्न पार्टीका सबै तहहरु सक्रिय रुपमा लाग्नुपर्छ । यस्तो परामर्शलाई कसले वैधानिक, अवैधानिक भन्छ ।
कांग्रेसका कुनै नेताहरुले पनि विधान, ऐन, नियम र कानुन मान्न छोडे नि ?
हाम्रो हिजोका परामर्श बैठकमा विधानलाई आपूmअनुकूल निलम्बन गर्ने, थप्ने, हटाउने जस्ता जुन परम्परा बस्न थाल्यो । पार्टीभित्र यस्तो काम गर्नुहुँदैन । पार्टीलाई विधिसम्मत, नीति र पद्धतिमा अगाडि बढाउनुस् भन्न खोजेका हौं । नेपाली कांग्रेसको कुनै पनि नेतालाई विधानलाई मिचेर दायाँबायाँ गर्ने अधिकार छैन । त्यो विकृति देखिन थालेकाले सही ट्रयाकमा ल्याउनका लागि हिजो परामर्श बैठक बसेको हो ।
सभापतिले बोलाउनु भयो भने जानुहुन्छ ?
जान्छौं नि । आफ्नो सभापतिले बोलाको ठाउँमा किन जाँदैनौं । हामी जिल्ला सभापतिहरु वरिष्ठ नेताले बोलाए पनि जान्छौं । महामन्त्री, उसभापतिहरु या अरु कुनै नेताले बोलाको खण्डमा पनि जान्छौं नि । त्यहाँ गएर आफ्नो सुझाव, विचारहरु राख्छौं, उहाहरुका पनि सुन्छौं । अहिले एकदलीय अधिनायकवादी सरकारको विरुद्धमा आवाज उठाउने बेला हो । यसमा पार्टीको आन्तरिक झगडालाई लिएर एकले अर्कोलाई सिध्याउने र पार्टी कब्जा गर्ने रणनीतिमा १४ महाधिवेशनलाई प्रभाव पार्ने गरी जानु हुँदैन भन्ने हाम्रो सुझाव हो ।
परामर्श बैठकपछि के गर्नुहुन्छ ?
यो परामर्श बैठकबाट जे निष्कर्ष निकाल्छौं । त्यो निष्कर्ष आदरणीय सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री सबैलाई दिन्छौं । त्यसपछि सार्वजनिकीकरण पनि गर्छौं । यो परामर्शबाट निस्किएिको निचोड पार्टीको संगठनको हितमा र आगामी महाधिवशेनलाई निश्पक्ष, पारदर्शी र विश्वासनीय ढंगले सम्पन्न गर्ने सुझावको रुपमा हुन्छ । हामीले गरेको निर्णय कुनै व्यक्ति केन्द्रित हुँदैन । त्यो सभापति, वरिष्ठ नेता, महामन्त्रीलगायत कुनै व्यक्तिको हितमा नहुन सक्छ । त्यो नितान्त पार्टीको सांगठनिक र विधानसम्मत निष्ठाको हितमा हुन्छ ।
तपाईंहरुको कारणले पार्टीमा एकताभन्दा विधाजनको बिऊ रोपियो ?
यसलाई विभाजन भन्न मिल्दैन । हिजो पनि जिल्ला सभापतिहरुको बैठकहरु बसिरहेको हो ।
समानन्तर बैठक गर्नुभएको होइन ?
यो समानन्तर बैठक होइन । हामी त्यस्तो समानान्तर बैठक गर्न दिँदैनौं । पार्टीको विधानमा र सिद्धान्तमा आँच आउने । समानान्तर कांग्रेस बनाउने । पार्टी फुटाउने षड्यन्त्रको राग कसैबाट आयो भने हामी त्यतातिर जाँदैनौं । हामी त पार्टीलाई एकढिक्का बनान लागेका छौं । जसरी अहिले बहुमतको नाममा केन्द्रीय समितिले विधानका धारा मिचेर आफ्ना विरोधको सदस्य हटाउने, आपूmनिकटलाई एकैछिनमा सदस्यता दिएर उम्मेदवार बनाउने परिस्थिति सिर्जना गरिएको छ । यो परिस्थिति निर्माण गर्नुभनेले १४ औं महाधिवेशनमा धाँधली गर्ने र कब्जामा लिने नियत अहिलेको नेतृत्वमा देखिएको छ । यसमा हरेक कार्यकर्ताहरु सशंकित छन् । हाम्रो भनाई त्यो गर्न पाइँदैन, हिजो परम्परागत विधि हुनुपर्छ भन्नेमै केन्द्रित हुन्छ ।
पार्टी सभापति ब्याक हुनुभएन भने के गर्नु हुन्छ ?
त्यसमा पार्टीले बुझ्ने कुरा हो । फलेको बोट जहिले पनि झुकेको हुन्छ ।
सभापतिले तपाईंहरुका कुरा मान्नुभएन भने के गर्नुहुन्छ ?
हाम्रो पार्टी सभापतिले यत्रो ४७-४८ जिल्लाका जिल्ला सभापतिहरुले दिएको सल्लाह, सुझाव मान्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । हुँदैन, भएन भने के गर्ने भन्ने आशंकातिर नजाऔं । हुन्छ भनेर नै हामी यति धेरै जिल्लाका सभापतिहरु बसेर छलफल गरेका हौं । हामीले दिएको सुझाव अनुसार पार्टीका सबै नेताहरु एक भएर अगाडि बढ्नुहुने भन्ने लाग्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्