Logo

अमेरिका इरान द्धन्द नेपालीलाई फिर्ता ल्याउन पहल



काठमाडौं, २४ पुस । अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ ।
इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ । मङ्गलबार इरानले इराकस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेपछि अवस्था झन् तनावपूर्ण बन्दै गएको छ ।

दुई देशबीच युद्ध भएका खण्डमा इरान र इराकमा रहेका नेपालीको जीवनसमेत सङ्कटमा पर्ने देखिएपछि नेपाल सरकारले सुरक्षा दिने र आपत् परेको खण्डमा तत्काल फिर्ता ल्याउने पहल थालेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सम्बन्धित देश हेर्ने राजदूतावास र त्यहाँका राजदूतलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । मन्त्री ज्ञवालीले सबै निकायसँग लगातार सम्पर्क गरी त्यहाँको अवस्थाको जानकारी लिइरहेको छ ।

परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले भने, “परेका बेला तत्काल उद्धार गरी ल्याउन सक्ने वातावरण र व्यवस्था गरिराख्न भन्नुभएको छ, त्यहाँ रहेका नेपालीको यकिन गरी सम्पर्कमा रहन भनेको छ ।” इराक र इरान दुई देशमा वैधानिक रूपमा काम गर्न जाने अनुमति छैन तर पनि अवैधानिक रूपमा थुप्रै नेपाली त्यस क्षेत्रमा कामका लागि रहेका छन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्