काठमाडौँ, २४ पुस । दरबार हत्याकाण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ । तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी निवासका रूपमा तयार गरिएको थियो ।
उहाँलाई १८ वर्ष उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदनमा सारिएको थियो । हत्याकाण्डका दिन सोही भवनको भ¥याङमा तत्कालीन रानी ऐश्वर्यको हत्या भएको थियो । २०६१ सालमा त्रिभुवन सदनभित्र रहेको दीपेन्द्रको निजी निवासका साथै बिलियार्ड हललाई जगसहित भत्काइएको थियो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आगामी एक वर्षभित्र दीपेन्द्रको निजी निवासको पुनःनिर्माण सम्पन्न गरिसक्ने गरी काम अगाडि बढाइएको बताए । “अवलोकनकर्ताहरूले दीपेन्द्रको निजी निवासका बारेमा निकै जिज्ञासा राख्ने गरेका छन्,” उनले भने, “शाहीकालमा त्यो भत्काउन लगाइयो । अहिले दुरुस्त भवन निर्माण भइरहेको छ । भवन तयार भएपछि हत्याकाण्डका बारेमा जिज्ञासा राख्नेहरूले त्यो बेला कस्तो भौतिक संरचना थियो भन्ने अनुमान गर्न सक्नेछन् ।”
यसअघि सङ्ग्रहालयले बिलियार्ड हलको पुनःनिर्माण सम्पन्न गरेको छ । त्यो बेलाका फर्निचर, तस्बिर, गलैँचा आदि नयाँ बनेको हलमा राखिएको छ । दीपेन्द्रको निजी निवास भत्काइएपछि त्यहाँ रहेका झ्यालढोका आदि सामग्री दरबार परिसरभित्र नयाँ टहरो बनाई राखिएको छ । दुईतले सो भवनमा त्यसबेला रहेका सजावटका सामग्री, ओछ्यान, फर्निचर आदिको अत्तोपत्तो छैन । दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालले दीपेन्द्रको निजी निवासमा त्यसबेला भएका सामग्रीको खोजी गरिने र फेला परेसम्म ल्याएर राखिने बताए । दरबार सङ्ग्रहालयका कर्मचारीहरू अवलोनकर्ताहरूले दरबार हत्याकाण्डमा प्रयोग भएका हतियार हेर्न निकै इच्छा व्यक्त गर्ने गरेको सुनाउँछन् । ती हतियार सबै नेपाली सेनामा बुझाइसकिएको छ ।
गोरखापत्र दैनिकबाट