Logo

तीन लाइनमा पेट्रोलियम ‘सेस्मिक सर्भे’



काठमाडौँ, २४ पुस । पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा श्रीस्थान, नाभिस्थान, पादुकालगायत विभिन्न क्षेत्रमा तीन लाइनको सेस्मिक सर्भे गरिएको छ । १० लाइनमा सेस्मिक सर्भे भइरहेको पेट्रोलियम पदार्थ अन्वेषण टोलीले जानकारी दिएको छ ।

अन्वेषणका लागि तीन वटा पूर्व–पश्चिम र सात वटा उत्तर–दक्षिण दिशामा सेस्मिक लाइन खनिएको थियो । त्यसमध्ये तीन लाइनको सर्भे सकिएको भूर्गभविद् डा. गणेशनाथ त्रिपाठीले बताए । ‘बाँकी सात लाइनमा माघसम्म सर्भे सम्पन्न गरिनेछ,’ उनले भने, ‘सेस्मिक सर्भेको मुख्य उद्देश्य जमिनमुनि सर्भे गरेको कुन एरियामा पेट्रोलियम पदार्थको भण्डार छ भन्ने पत्ता लगाउनु नै हो ।’ कोटिलादेखि पादुका स्थानसम्मलाई आधार मानेर झन्डै चार सय वर्गकिमि सर्भे गरिएको उनले जानकारी दिए ।

कुनै पनि उत्खननका लागि सेस्मिक सर्भेलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यो निकै खर्चिलो हुने र लामो समय लाग्ने त्रिपाठीले बताए । मुख्यतया दुल्लु र नारायण नगरपालिकासहित भैरवी, महाबु र चामुण्डा–बिन्द्रासैनी, डुंगेश्वर, नौमुले तथा भगवतीमाईका केही भूभाग समेटेर १० वटा सेस्मिक लाइनमा सर्भे गरिरहेको टोलीले जनाएको छ । दुई सय किलोमिटर लाइन सर्भे गर्न चार सय वर्गकिमि भूभाग समेटिएको भूर्गभविद् डा। त्रिपाठीले बताए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्