लण्डन, २४ पुष । फिल्म ‘शुभलभ’ लन्डनमा प्रदर्शन गरिएको छ । करिब एक बर्ष अगाडि नेपाल प्रदर्शनमा आएको उक्त फिल्म आइतबार साउथ हयारोस्थित गोल्डेनसीप हलमा प्रदर्शन गरिएको थियो ।
फिल्म हेर्न उलेख्य संख्यामा दर्शक आएको निर्देशक सन्तोष लोहनीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । फिल्म शोमा एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का, गुल्मी जिल्ला समाज युकेका सल्लाहकार गोकर्ण बस्नेत, थर्ड आइका विकास देवकोटा, मिसेस नेपाल टिम, स्थानीय कलाकार र सर्वसाधारणको सहभागिता उल्लेख्य सहभागिता रहेको छ । फिल्म बेलायतका विभिन्न शहरमा गरेर महिनासम्म प्रदर्शन हुनेछ ।
प्रेम कथामा कमेडी मिसाइएको फिल्म १२ तारिख प्लमस्टिड वर्किङ मेन्स क्लब, १८ जनवरी रेडिङको द वेयरहाउस, २० जनवरीमा स्कटल्याण्ड र १६ मा अल्डरसटमा समेत प्रदर्शन हुने निर्देशक लोहनीको भनाई रहेको छ ।
बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता धर्मराज सुवेदी हुन् । फिल्ममा ज्योतिस हरिहर अधिकारी, कृस्टिन पौडेल, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्य थापालगायतको मुख्य भूमिका रहेको छ ।
हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायका स्थानमा छायाँकन गरिएको फिल्मको युरोप प्रदर्शनले भिजिट नेपाल २०२० लाई समेत मद्दत पुर्याउने बिश्वास निर्देशक लोहनीको रहेको छ ।
फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको एक्सन छ । यसका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् । यस चलचित्रका लाइन प्रोड्युसर युरोप निवासी प्रकाश कडरिया हुन् ।
चलचित्रका लाइन प्रोड्युसर नै युरोप निवासी भएकाले यस चलचित्रलाई युरोपमा पनि अधिकांश स्थानमा प्रदर्शन गरिने निर्देशक लोहनीले बताए ।