काठमाडौँ, २५ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदसम्बन्धमा संसदका दुई वटा समितिले राखेको चासोलाई सरकारले सहयोग गर्ने बताएको छ ।
नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले लेखा समिति र अर्थ समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कुनै गडबड छ कि भनेर छानविन वा अध्ययनका लागि कागजपत्र माग गरेको बताए । उनले भने, “दुईवटा समितिले उठाएको चासोलाई सम्मान गर्नुपर्छ । कागजपत्रको अध्ययन गरेर छिटो निकास दिनुस् । यसले सरकारका कामकारवाहीमा सहयोग नै पुग्छ ।”
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले छ, सात लाख पासपोर्ट मात्र मौज्दात रहेकाले कागजपत्र अध्ययन गरेर छिटो निकास दिन आग्रहसमेत गरे । उनले नेपाल सरकारले फ्रान्स सरकार र जर्मन सरकारसँग गरेका सम्पूर्ण पत्राचार, डकुमेन्ट, आर्थिक प्रस्तावहरु पठाइने बताए ।
गोरखापत्र दैनिकबाट