काठमाडौँ, २५ पुस । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिएको थियो भने आयुक्तद्वय कमला वली र दीपक मैनालीले प्रमुख आयुक्त गुरुङबाट शपथ लिए । उनीहरुले आफ्नो कार्यभार सम्हालेको आयोगका सूचना अधिकारी बाबुराजा श्रेष्ठले जानकारी दिए । उनीहरुको पदावधि पाँच वर्षको हुन्छ ।
कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. पुष्पराज कँडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, सूचना आयोगका सचिव मणिराम ओझालगायत उपस्थित थिए ।
गोरखापत्र दैनिकबाट