काठमाडौँ, २५ पुस । मङ्सिर र पुसमा परेको हिउँदे वर्षाका कारण इँटा उद्योगमा ठूलो क्षति भएको छ । प्रारम्भिक जानकारी अनुसार दाङमा रहेका ३६ वटा इँटा उद्योगमा तीन करोड ५० लाख काचो इँटा पूर्ण रूपमा गलेर नष्ट भएको दाङ जिल्ला इँटा व्यवसायी समितिका अध्यक्ष रोम वलीले जानकारी दिए ।
उनका अनुसार यसबाट व्यवसायीले एघार करोड रुपियाँभन्दा बढीको क्षति बेहोर्नु परेको छ । पकाउन तयारी अवस्थामा राखिएको भट्टीमा समेत पानी परेका कारण क्षतिको रकम अझै बढ्ने अध्यक्ष वलीले जानकारी दिए । जिल्लाका ३६ वटै इँटा उद्योगको क्षतिको पूर्ण विवरण नआएकाले क्षति बढ्न सक्ने अध्यक्ष वलीले जानकारी दिए ।
एउटा काँचो इँटा तयार पार्न तीन रुपियाँ लगानी गर्नुपर्ने इँटा व्यवसायी समितिका सचिव प्रेमनाथ योगीले जानकारी दिए । इँटा पार्ने समय सुरु हुनासाथ यस वर्ष वर्षा भएका कारण इँटाको मूल्यसमेत बढ्न सक्ने अध्यक्ष वलीले जानकारी दिए ।
गोरखापत्र दैनिकबाट