Logo

नेकपामा संविधान संशोधन बहस



काठमाडौं, २५ पुस । सत्तारूढ नेकपाको शीर्ष तहमा संविधान संशोधनका विषयमा बहस सुरु भएको छ। नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले आफूलाई राष्ट्रियसभामा जान प्रस्ताव गरेपछि नेता वामदेव गौतमले ‘संविधान संशोधन’ गर्नु पर्ने सर्त राखेका थिए।

संविधानको धारा ७६ को १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ। यो धाराअनुसार राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने छैनन्। तर नेता गौतमले यसलाई संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन्।

नेता गौतमकै निवास भैंसेपाटीमा बुधबार भएको छलफलमा सहभागी प्रधानमन्त्री ओली इतरका नेताहरूले गौतमले उठाउँदै आएको विषयमा पुनः एकपटक प्रधानमन्त्री ओलीसँग नीतिगत छलफल गर्ने समझदारी बनाएको सहभागी एक नेताले बताए। यसअघि प्रधानमन्त्री ओलीले गौतमको सर्त अस्वीकार गरिदिएपछि गौतम ९ माघमा हुन लागेको राष्ट्रियसभा चुनावमा उम्मेदवार नबन्ने निष्कर्षमा पुगेका थिए। नेकपाका ९ सदस्यीय सचिवालय सदस्यमध्ये गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्र संघीय संसद्मा थिएनन्। प्रवक्ता श्रेष्ठ राष्ट्रियसभा सदस्य उम्मेदवार बनेको छ ।

गौतमलाई फकाउन र उनले उठाएका सर्त सम्बोधनका लागि नेकपाका अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव नेपालदेखि अन्य नेता पनि तयार छन्। तर ओली यस विषयमा सकारात्मक छैनन्। गौतम निवासको छलफलमा संविधान संशोधनमा सहमत बन्दै प्रधानमन्त्री ओलीसँग नीतिगत छलफल गर्ने समझदारी भएको छ। बुधबारको छलफलको वातावरण बनाउन यसअघि नेताहरूबीच विभिन्न चरणमा कुराकानी हुँदै आएका थिए।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्

Screenshot