Logo

तनहुँ हाइड्रोमा एडीबीको हस्तक्षेप



काठमाडौं, २५ पुस । निर्माण सुरु भइसकेको जलाशययुक्त तनहुँ हाइड्रो १४० मेगावाटको पुनः ठेक्का प्रक्रियामा एसियाली विकास बैंक एडीबीले हस्तक्षेप गरी रद्द गरेको छ। अघिल्लो वर्षदेखि निर्माण सुरु भएको आयोजनाको पहिलो प्याकेज आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ र अस्थायी बाँधलगायतका संरचना को ठेक्का रद्द भएपछि लागत र निर्माण सम्पन्न हुने तालिका प्रभावित भएको छ।

आयोजनामा १५ करोड अमेरिकी डलर ऋण दिएको एडीबीको हस्तक्षेपका कारण निर्माण सम्पन्न हुन कम्तीमा पनि आठ महिना पर धकेलिएको छ भने लागत पनि बढ्ने भएको छ। ‘एडीबीको अस्वीकृतिसँगै यसले आयोजनामा पार्ने असरबारे हामी अध्ययन गरिरहेका छौं,’ तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बिहीबार अन्नपूर्णसित भने। उनका अनुसार एडीबीले डिसेम्बर अन्तिम साता आयोजनाले पठाएको चारवटै प्रस्तावक ठेकेदार कम्पनी अस्वीकृत भएको उल्लेख गर्दै पुनः ठेक्का गर्न पत्राचार गरेको हो। एडीबीले उसले राखेका सर्त पूरा नभएको जनाएको छ।

पहिलो प्याकेजको ठेक्काका लागि तनहुँ हाइड्रोपावर लिमिटेडले गत वैशाख १२ गते पुनः टेन्डर गरेको थियो। टेन्डर गरेको नौ महिनापछि सबै प्रक्रिया रद्द भएको हो। आयोजनाको अनुमानित लागत भ्याट र भइपरिआउने खर्चसमेत गरी २० अर्ब ६४ करोड रुपैयाँ छ। पहिलो प्याकेजका लागि चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम÷कालिका कन्स्ट्रक्सन ९संयुक्त उपक्रम० ले बोलपत्र पेस गरेका थिए। थिकेका अनुसार एडीबीले गेजुवा र चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङको मुख्य अनुभव नपुगेको उल्लेख गर्‍यो भने सिनो हाइड्रो र सोङ डाको उपठेकेदारको अनुभव नपुगेको जनाउँदै चारवटै प्रस्ताव कम्पनीलाई रद्द गरिदियो।

सिनो हाइड्रो र सोङ डाले ‘बोर्ड पाइल वर्क’ बाढीबाट संरचना जोगाउने कार्यको डिजाइन तथा निर्माण कार्यका लागि उपठेकेदार जर्मनीको बौवर जीएमबीएसलाई छनोट गरेका थिए। उक्त जर्मनी कम्पनीको यसखाले संरचना निर्माणमा अनुभव नभएकाले सिनो र सोङ दुवै असफल हुन पुगेको एडीबीको दाबी छ। अब नयाँ ठेक्का प्रक्रिया पूरा गर्न कम्तीमा ६ महिना लाग्ने थिकेले बताए। टेन्डर बुझाउन, मूल्यांकन गर्न, मूल्य खोल्न र दाताका सहमति लिन यो समय लाग्ने अनुमान छ। ‘सबै कुरा भनेअनुसार भयो भने ६ महिना लाग्छ,’ उनको भनाइ थियो, ‘अब आयोजना कहिले पूरा हुन्छ भन्ने अध्ययन गर्दै छौं।’
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्