काठमाडौँ, २५ पुस । सरकारले पश्चिम एसिया क्षेत्रमा उत्पन्न तनावबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस क्षेत्रमा गैरआवासीय नेपाली कामदारको बढी उपस्थिति रहेको जनाउँदै सरकारले त्यहाँका नेपालीको सुरक्षाको विषयमा उच्च प्राथमिकता दिएको जनाएको छ ।
त्यस क्षेत्रमा अवस्थित इरानसँग पछिल्लो समय अमेरिकाको बढ्दो तनावपूर्ण सम्बन्धतर्फ इङ्गित गर्दै सरकारले त्यसमा सम्बन्धित देशलाई शान्तिपूर्ण उपायबाट तनाव समाधान गर्न आग्रह गरेको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी सबै पक्षलाई यस्तो उपाय र कार्य गर्नबाट रोक्न आग्रह गर्दछौँ, जसले तनाव बढाउन सहयोग पु¥याउँछ । ” साथै सरकारले त्यस्ता गतिविधिले त्यस क्षेत्रको शान्ति र स्थायित्वलाई खतरामा पार्ने जनाएको छ । सरकारले सबै खालका विभेद र मतभेदलाई शान्तिमय माध्यमबाट समाधान गर्न आग्रह गर्दै त्यो नेपालको सैद्धान्तिक अडानसमेत रहेको विज्ञप्तिमार्फत प्रस्ट पारेको छ ।
इराकमा रहेका नेपालीको सुरक्षाका लागि सरकारले विभिन्न निकायसँग समन्वय जारी राखेको छ । बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा त्यस विषयमा बैठकसमेत बस्यो । बैठकमा पश्चिम एसियामा उत्पन्न घटनाक्रम र सुरक्षाको समन्वय बलियो बनाउने विषयमा छलफल भयो । बैठकले मन्त्री ज्ञवालीको संयोजकत्वमा अन्तरनिकाय समन्वय समिति गठन गरेर काम गर्ने निर्णय गरेको छ । इरान र अमेरिकी तनावको परिस्थिति आकलन गरेर समितिले काम अगाडि बढाउने भएको छ । बैठकमा पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रम, विद्यमान सुरक्षास्थिति तथा त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकको अवस्थालगायत विषयमा विश्लेषण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र मन्त्रालयका विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्व थियोे । मन्त्री ज्ञवालीले सबै निकायको समन्वय रहे सङ्कट उत्पन्न भएको खण्डमा त्यहाँ रहेका नेपालीको तत्काल उद्धार गर्न सकिने औल्याए ।
गोरखापत्र दैनिकबाट