काठमाडौं, पुस २५ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले थोत्रा १६ वटा मिनी ट्रक रंग रोगन गरी एम्बुलेन्सको स्वरुप दिएर प्रदेशका विभिन्न अस्पतालमा वितरण गरेको छ । उक्त बाँडिएका थोत्रा एम्बुलेन्स चलाउन नपाउँदै थन्किएका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् ।
मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स दुर्घटना हुने डरले चालकले समेत चलाउने आँट गरेका छैनन् । डोटी जिल्ला अस्पतालमा आएको नयाँ एम्बुलेन्सका चालक रतन धामीले सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्स थन्क्याएर पुरानै एम्बुलेन्स चलाइरहेको बताए ।
उनले मन्त्रालयले दिएको एम्बुलेन्सको ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, ओरालोमा गाडी तात्तिएर अत्यन्त गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, अलिकति गति लिनखोजे पल्टिनेलगायतका समस्या भएको बताए । ‘नयाँ एम्बुलेन्स चलाउनु त जोखिम मात्र छ, त्योभन्दा पुरानै ठीक छ, जोखिम मोलेर के यस्तो एम्बुलेन्स चलाउनु ।’ उनले भने ।
मन्त्रालयले दिएकोभन्दा विभिन्न सङ्घ संस्थाले दिएका पुरानै एम्बुलेन्स चलाउन सजिलो र सुरक्षित लाग्ने गरेको अर्का एम्बुलेन्स चालक भीम विष्टको भनाई रहेको छ । उनले पुरानो साधन भएकाले चलाउन डर लाग्ने बताए ।
मन्त्रालयले बाँडेका एम्बुलेन्स धामधम बिग्रिन थालेको चालक बताउँछन् । ग्राउण्ड क्लिरियन्स पनि अत्यन्त कम भएका कारण पहाडी कच्ची सडकमा ती एम्बुलेन्स चलाउन अत्यन्त कठिनाइ भइरहेको उनीहरुको दाबी छ । निःशुल्क प्रदान गरिएका एम्बुलेन्समा ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क र सुत्केरीलाई ५० प्रतिशत शुल्क लिएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको जनाइएको छ ।