काठमाडौँ, २५ पुस । टिकट बिक्री, श्रद्धालुले गर्ने दान र चन्दा लुम्बिनी विकास कोषका मुख्य आम्दानी हुन् । उपासक, तीर्थालु र पर्यटकले दान नगरे कोषको प्रशासनिक काम ठप्प हुन्छ । कर्मचारीले तलबभत्ता पाउँदैनन् तर कोषले यसरी संकलित रकमबाट उपाध्यक्ष अवधेशकुमार त्रिपाठीका लागि पजेरो गाडी खरिद गर्न लागेको छ । जापानमा निर्मित गाडीको मूल्य १ करोड ५८ लाख रुपैयाँ पर्ने बताइएको छ ।
कोषले गाडी खरिदका लागि गत मंसिर १५ गते पत्रिकामा ‘ई–बिडिङ’ का लागि सूचना प्रकाशन गरेको थियो । सूचनामा १ करोड ५८ लाख मूल्य रहेको जापानको मित्सुबिसी ‘पजेरो स्पट’ गाडी चाहिएको उल्लेख छ । सूचना प्रकाशन भएको ३० औं दिनमा निओन मोटर प्रालि काठमाडौंले कोषले उल्लेख गरेको भन्दा २ रुपैयाँ कममा प्रस्ताव पेस गरेको छ । अहिलेसम्म एउटामात्र कम्पनीले फारम भरेको हो । उक्त गाडी बजारमा आएको एक महिना पनि भएको छैन । २४७७ सीसीको पजेरो वातानुकूलित, अत्याधुनिक प्रविधि र सुविधायुक्त रहेको वेबसाइटमा उल्लेख छ ।
महँगो गाडी खरिद गर्न लागेको कोषका कर्मचारीले मन पराएका छैनन् । ‘चन्दा सहयोग उठेन भने कर्मचारी पारिश्रमिक पाउँदैनन्,’ कोषका एक कर्मचारीले भने, ‘यत्रो विलासी गाडी किन चाहियो’ उनले गाडी खरिदको विरोधमा देखिने गरेर उत्रिन गाह्रो रहेको बताए । कोषमा अहिले ६ वटा गाडी छन् । उपाध्यक्ष त्रिपाठी टक्सन चढ्छन् । कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य कियाको स्पोटेज प्रयोग गर्छन् । निमित्त सदस्य–सचिव तथा योजना प्रमुख सरोज भट्टराई स्कार्पियो चढ्छन् । सदस्य–सचिवका लागि रहेको अर्को स्कार्पियो अहिले पद रिक्त भएकाले काठमाडौंस्थित सम्पर्क कार्यालय प्रमुख ज्ञानिन राई चढ्छन् । अन्य कार र पिकअप कार्यालय प्रयोजनका लागि प्रयोग भइरहेका छन् ।
कान्तिपुर दैनिकबाट