Logo

सेजमा सधैँको समस्या



काठमाडौँ, २५ पुस । निर्यातमूलक उद्योग स्थापना गर्ने लक्ष्यसहित २० वर्षअघि सुरु गरिएको विशेष आर्थिक क्षेत्र पूर्ण सञ्चालनको काम अझै पनि अलमलमै छ । बढ्दो व्यापार घाटा कम गर्न उद्योगलाई विभिन्न सहुलियतसहित आकर्षित गर्ने लक्ष्य सेजले राखेको भए पनि उद्योगी स्वतःस्फूर्त जान अहिलेसम्म तयार देखिँदैनन् ।

खासगरी दुईपटक उद्घाटन भइसकेर सञ्चालनमा रहेको एक मात्र भैरहवा सेजमा अहिलेसम्म जम्मा तीनवटा उद्योग मात्र सञ्चालन हुनुले यसलाई पुष्टि पनि गर्छ । पूर्वाधार र विद्युत् आपूर्तिको सधैँको समस्या अनि कतिपय कानुनी अड्चनले सेज लक्ष्य अनुसार अगाडि बढ्न नसकेको निष्कर्ष एक अध्ययनले देखाएको छ । समुन्नति र नेपाल आर्थिक पत्रकार समाज सेजोनको सहकार्यमा गरिएको अध्ययनले सेजमा आकर्षण नबढ्नुमा सधैँ एउटै किसिमको समस्या दोहोरिनुलाई कारण मानेको छ । खासगरी पर्याप्त विद्युत् आपूर्तिको अभावमा उद्योग सञ्चालनमा समस्या रहेको अध्ययनले जनाएको छ । यसबाहेक उद्योगलाई सुहाउँदो पूर्वाधार नभएको, कुल उत्पादनमध्ये ६० प्रतिशत निर्यात गर्नेपर्ने कानुनी व्यवस्था, सेज प्राधिकरणमा पर्याप्त जनशक्तिको अभाव, तत्काल समस्या समाधानमा जटिलता, एकद्वार प्रणालीको व्यवस्था नहुनुलाई मुख्य समस्याका रूपमा अध्ययनले समेटेको छ ।

उद्योगीका लागि यो नयाँ समस्या भने होइन । दुई वर्षअघि नै ६ महिनाभित्र विद्युत् वितरण लाइन भैरहवा सेजभित्र पु¥याउने, सबस्टेसन निर्माण गर्ने भनिए पनि अहिलेसम्म त्यो काम हुनसकेको छैन । पर्याप्त विद्युत्को अभावमा धेरै ठूलो प्लान्ट र मेसिनरी स्थापना गर्न समस्या भइरहेको सेजभित्र सञ्चालनमा रहेको पञ्चकन्या म्यानुफ्याक्चरिङका खडानन्द चौधरीले बताए।
दोस्रोपटक सन् २०१४ मा सेजको उद्घाटन गरिए पनि उल्लेखित समस्या देखाउँदै कतिपय उद्योगीले लगानी फिर्ताको घोषणा गरिसकेका छन् । अध्ययनका अनुसार अहिलेसम्म पाँच उद्योगले लगानी फिर्ताको घोषणा गरिसकेका छन् भने विभिन्न १३ वटाले लगानी प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा जाने कुरा टुङ्गो लगाइसकेका छैनन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्